arrow

कुन उमेर समूहकाले पाउँछन् चीनबाट आउन लागेको खोप ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं । सरकारले चीनबाट खरिद गरेर कोरोना भाइरसविरूद्धको खोप ल्याउन लागेको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनाेफार्मले उत्पादन गरेको भेराेसेल खोप सरकारले ल्याउन लागेको हो ।

पहिलो चरणमा दश लाख डोज खोप ल्याउन असार २४ गते नेपाल एयरलाइन्सको जहाज चीन जाँदै छ । त्यसपछि अन्य दुई/तीन मितिमा थप खोप ल्याउने सरकारको योजना रहेको छ।

खोप भित्रिने भएसँगै सरकारले कुन-कुन उमेर समूहका नागरिकलाई खोप लगाउँछ भन्ने चासोको विषय बनेको छ । 

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्याङ्क अनुसार नेपालमा २६ लाख ११ हजार ८ सय ७ जनाले कोरोना भाइरसविरुद्धको एक डोज र ७ लाख ५९ हजार ९ सय ५४ जनाले दुवै डोज खोप लगाइ सकेका छन् ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले अहिलेसम्म ६० देखि ६५ वर्ष भन्दामाथि उमेर  समूहका नागरिकहरूलाई खोपका लागि आह्वान गरिएको बताएका छन् ।

अब, चीनबाट आउन लागेको भेरोसेल खोप कसरी र कुन उमेर समूहलाई लक्षित गरेर लगाउने भन्नेबारे महाशाखाले तयारी गरिरहेको छ । यसका लागि चीनबाट कति डोज खोप आउँदै छ भन्ने विषय महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

सरकारले चीनसँग गोप्य सम्झौता गरेर खोप खरिद गरिरहेका कारण कति डोज खोप आउँदै छ र प्रति डाेजकाे मूल्य कति तोकिएको छ भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

महाशाखाका प्रमुख डा. शर्माले कति खोप आउँदै छ भन्ने जानकारी भएसँगै ५५ वर्षभन्दा माथिकालाई लक्षित गर्ने की त्यो भन्दा कम उमेर समूहकालाई पनि लक्षित गर्ने भन्ने टुङ्गो लाग्ने बताएका छन् ।

'खोप कति आउँदै छ भन्ने जानकारीका आधारमा ५५ वर्षभन्दा माथिका या त्यो भन्दा कम उमेर समूहका नागरिकहरूलाई पनि लगाउने भन्ने निर्णय हुन्छ', उनले भने, ' योबारे हामीले चाँडै निर्णय गर्दैछाैं,' डा. शर्माले अगाडि भने ।

महाशाखाले उमेर समूह अनुसार खोप लगाउने कार्य तालिका बनाएसँगै खोप जिल्ला जिल्लामा पुग्ने छन् । जिल्लाबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ)को अध्यक्षतामा रहेको खोप अनुगमन तथा समन्वय समितिले स्थानीय तहलाई खोप उपलब्ध गराउनेछ । 

त्यसपछि स्थानीय तहले खोप केन्द्र निर्धारण गर्नेछ  । खोप केन्द्रमा आफ्नो उमेर समूह खुलाउने परिचयपत्र लगेर खोप लगाउन सकिने छ ।

हालसम्म नेपालमा २४ लाख ४८ हजार डोज काेभिसिल्ड र १८ लाख डोज भेराेसेल खोप भित्रिएको छ ।

२४ लाख ४८ हजारमा १० लाख भारत सरकारले अनुदान दिएको, १० लाख खरिद गरिएको , १ लाख नेपाली सेनाले सहयोग पाएको र ३ लाख ४८ हजार काेभ्याक्स सुविधामार्फत उपलब्ध भएको थियो ।

यस्तै भेराेसेलकाे १८ लाख डोज खोपमध्ये १६ लाख चीन सरकारले र २ लाख तिब्बत सरकारले अनुदान स्वरूप उपलब्ध गराएको तियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ