arrow

दयनीय बन्दै छ मिर्गौला बेच्नेको दिनचर्या

logo
 राजकुमार पराजुली,
प्रकाशित २०७८ असार २४ बिहिबार
kidney-failure.jpeg

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका-७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो । छदेखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएका यस क्षेत्रमा मिर्गौला विक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन् उनीहरु । होस-बेहोसमा हुने उनीहरु “हाम्रो फोटो र भिडियो लिएर जाने र पैसा कमाउने हामीलाई केही नदिने ?” भन्दै आक्रमणमा उत्रिएका थुप्रै घटना छन् । जानेर-नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।

विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । १९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका-२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि बिक्री गरेको बताउछन् । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने । उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गौला बेच्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन् ।

“मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन, अनि यो भन्दा दुःखदायी के हुन्छ अब ? नवराज मिजारले दुखेसो पोखे । अझ उनी जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बाँयातर्फ शल्यक्रिया गरेको आठ इन्चको खतसमेत देखाउने गर्छन् । उनलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो । दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गौला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो । स्वेच्छाले मिर्गौला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन् । एक पीडितका अनुसार मिर्गौला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलायो । 

यी समुदायमा कुनैपनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन । नेपाल नाजेरत सोसाइटी नामक संस्थाले हालै जोरपीपल क्षेत्रमा निःशुल्क बाख्रा वितरण गरेको सयमध्ये ३० मिर्गौला बेच्ने परिवारले पाए । वडाध्यक्ष पुष्कर ढकालले विभिन्न निकायबाट चालु आर्थिक वर्षको शुरुमा पाँचखाल नगरमा आएको लक्षित समुदाय विकास कार्यक्रमअन्तर्गत करिब ८० मिर्गौलापीडितलाई प्रदान गरिने निर्णय गरे पनि आवको अन्त्यमा अन्यत्रै लगिएको बताए । उनका अनुसार वडामार्फत गत वर्ष भने मिर्गौला बेचेका ८४ परिवारलाई मौरीघार वितरण गरिएको थियो ।

काभ्रेबाट केही वर्षदेखि मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले  बनेपा नपा-२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा-१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपीआर)को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो ।  होक्से गाविस-१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । काभ्रे प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानूनी कारवाही गरेको थियो । मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्र्तगत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजायँ हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी ब्यवस्था छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ