arrow

रूसमा पछिल्लो २४ घण्टामा करिब २५ हजार संक्रमित

logo
एएन्आई,
प्रकाशित २०७८ असार २४ बिहिबार
corona-russia1.jpg

मस्को, रूस । रूसमा कोभिड-१९ बाट संक्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

रूसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड-१९ संक्रमित भएसँगै अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४५२ पुगेको बताइएको छ ।

केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रूसको कोभिड-१९ प्रभावित ८५ क्षेत्रमा गरिएको परीक्षणमा संक्रमितको सङ्ख्या २४ हजार ८१८ पाइएको छ । यी संक्रमितमध्ये दुई हजार ९५४ अर्थात् ११.९ प्रतिशत संक्रमितमा कुनै पनि लक्षण फेला नपरेको पाइएको छ ।” 

केन्द्रका अनुसार संक्रमित दर ०.४४ प्रतिशतले कम भएको छ । बिहीबार मस्कोमा छ हजार ४० व्यक्ति संक्रमित भएका छन् । 

राजधानी मस्कोपछि रूसको बढी घना बस्ती रहेको सेन्ट पिटर्सबर्गमा पछिल्लो २४ घण्टामा एक हजार ९३७ संक्रमित भेटिएका छन् ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३४ व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिडका कारण रूसमा एक लाख ४० हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।

उक्त समयमा कोभिड-१९ संक्रमित २१ हजार ३३६ विरामी कोरोनाभाइरसमुक्त भएका छन् । यससँगै रूसमा कोभिड भई निको हुनेको सङ्ख्या ५१ लाख ४३ हजार २२५ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ