पोखरा । पुरी फाउन्डेशनले पोखरास्थित गण्डकी प्रदेश सरकारले स्थापना गरेको प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । पुरी फाउन्डेशन तथा एनआरएनए बेल्जियमको संयुक्त लगानीमा एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।
अक्सिजन प्लान्टले हरेक दिन एक लाख ४४ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने र सो अक्सिजनले २० देखि ३० जना बिरामीलाई सेवा पुग्ने बताइन्छ । बिहीबार एक कार्यक्रमका बीच अस्पतालका निर्देशक डा. विकाश गौचनलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।
अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अक्सिजन प्लान्टका लागि सहयोग जुटाएको पुरी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत वेदराज पुरीले बताए ।
अस्पतालका निर्देशक डा. गौचनले अक्सिजन प्लान्टले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । सहयोगदाताप्रति आभार प्रकट गर्दै उनले सरकारी अस्पतालको अवस्था राम्रो भएमा मात्रै आम जनताले राम्रो सेवा पाउन सक्ने बताए ।
गण्डकी प्रदेशमा कोरोना महामारी सुरु भएपछि सबैभन्दा धेरै बिरामी संक्रामक तथा सरुवा रोग अस्पतालमा आएको भन्दै उनले अस्पतालमा सेवा लिन विरगंज, वुटवलबाट समेत बिरामी आउने गरेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले अक्सिजन प्लान्टको सही सदुपयोग गर्दै बिरामीलाई सहजरूपमा उपचार गराउन आग्रह गरिन् ।
अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य डा। ध्रुवबहादुर अधिकारी, मेजर रामप्रसाद गुरुङ, सूर्य कुमारी बन्जरा, जीवन सुरक्षा तथा सामाजिक विकास नेपाल गण्डकी प्रदेशका अध्यक्ष अम्विका ढकाल लगायतले बोलेका थिए ।
अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बेल्जियमबाट कुलप्रसाद वस्ताकोटी, नेपालबाट पूर्वमन्त्री एवं कांग्रेसका नेता यज्ञबहादुर थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, जीवन सुरक्षा तथा सामाजिक विकास नेपाल गण्डकी प्रदेशका अध्यक्ष अम्विका ढकाल, पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलगायतले पहल एवं समन्वय गरेका थिए ।
गत वर्षमात्रै साविकको लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रामक तथा सरुवा रोग अस्पतालका रुपमा विकास गरिएको थियो ।
अस्पतालमा हाल ५७ शय्या रहेका छन् । अस्पतालको क्षमता वृद्धि गर्न र भौतिक पूर्वाधार थप्नका लागि गण्डकी प्रदेश सरकारले नयाँ बजेटमा समेत विशेष व्यवस्था गरेको छ ।