arrow

पत्रकारलाई सरकारको स्वस्थ आलोचना गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
krishna-chandra-nepali-mukh.jpg
तस्वीर–फाइल ।

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा शुक्रबार  ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उनले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राखे । 

“सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भने । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पुर्याएको योगदानको स्मरण र सम्मान गरे ।

मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताए ।

सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बागलुङ शाखाको वेबसाइटको समेत उद्घाटन गरेको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ