arrow

गण्डकीमा मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो, ह्वात्तै बढे संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक जना पुगेको छ । प्रदेशमा आइतबार सात जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक पुगेको हो । 

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमितको मृत्यु कास्कीमा भएको छ । प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा हालसम्म ४२७ जना संक्रमितको मृत्यु भएको छ । 

कास्कीमा आइतवारमात्रै दुई जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यसै गरी कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या लमजुङमा ३२, गोरखामा ४३, पर्वतमा ५३ जना पुगेको छ । तनहुँमा आइतबार एक जनासहित १०९ जना पुगेको छ भने म्याग्दीमा पनि आइतबार एक जनासहित ४३ जना पुगेको छ । 

यस्तै, कोरोना संक्रमणबाट नवलपरासी पूर्वमा आइतबार चार जनासहित ९५, स्याङ्जामा आइतबार एक जनासहित ११७ जना, बागलुङमा आइतबार दुई जनासहित ६६ जना, मनाङमा एक जना र मुस्ताङमा १५ जना पुगेको संयोजक शर्माले जानकारी दिए । 

गण्डकीमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमित निको भएको बताइन्छ । योसहित गण्डकीमा निको हुने संक्रमितको सङ्ख्या ५५ हजार दुई सय ७२ जना पुगेका छन् ।

गण्डकीमा आइतबार ४१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवारको तुलनामा संक्रमितको सङ्ख्या ह्वात्तै बढेको हो । शनिवार गण्डकीमा १२५ जना मात्रै संक्रमित फेला परेका थिए । गण्डकीमा कूल संक्रमितको सङ्ख्या ५९ हजार १६४ जना पुगेको छ । गण्डकीमा आइतबार २८ सय ९१ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ