arrow

विकासे मन्त्रालयको नेतृत्वको लागि उपयुक्त पात्र दिव्यमणी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार ३० बुधबार
dibyamani-rajbhandari.gif
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएदेखि नै सरकारमा समेटिने मन्त्रीहरूको चर्चा सुरु भएको छ। प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई मात्र पहिलो चरणमा मन्त्रीपरिषद्मा लगेका कारण पनि थप आकाङ्क्षीहरूको चर्चा यति बेला चुलिँदै गएको हो। 

मन्त्रीपरिषद्मा समेट्नु पर्नेहरूको नामावलीबारे विभिन्न कोणबाट समेत चर्चा हुने गरेको छ। माओवादी केन्द्र सरकारमा आए पनि गठबन्धनको दल जसपाले निर्वाचन आयोगबाट आधिकारिकताको टुङ्गो लागेपछि मात्र सरकारमा जाने बताएको छ। 

जसपालाई केही मन्त्रालय छुट्टाएर काँग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा नेतृत्व गरेर पठाउने मन्त्रीहरूको लागि आन्तरिक छलफल र गृहकार्य गरिरहेको छ। यसका लागि विभिन्न मापदण्ड बनाएर मन्त्री बन्नेहरूको बारेमा निर्णय गर्ने तयारीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्। 

नेताहरूले आफ्नो तयारी गरिरहेकै बेला आकाङ्क्षीहरूको बारेमा पनि विभिन्न अड्कल हरू समेत काटिन थालेका छन्। विस्तारित मन्त्रिपरिषद्मा अनुभवी, जुझारु, क्रियाशील, लोकप्रिय र विवादमा नपरेको मापदण्ड बनाएर त्यस्ता व्यक्तिहरूलाई समेट्नु पर्ने आवाज पनि उठेका छन्। अहिलेसम्म मन्त्री नबनेकाहरूलाई पनि संसद्मा उनीहरूले खेलेको भूमिकालाई हेरेर मन्त्री बनाउनु पर्ने चर्चा पनि भइरहेको छ। 

काँग्रेस सांसद दिव्यमणी राजभण्डारी यस्तै चर्चामा रहेका सांसद हुन्। व्यावसायिकसँगै राजनीतिक पृष्ठभूमिका राजभण्डारी संसद्मा सबैभन्दा सक्रिय सांसदको रूपमा परिचित छन्। दोलखाबाट ५० वर्षभन्दा अघिदेखि नेपाली काँग्रेसको राजनीतिमा जोडिएको राजभण्डारी परिवार पञ्चायत विरुद्धको आन्दोलनमा पनि बिपी कोइराला र गणेशमान सिंहको सहयोगीको रूपमा क्रियाशील थियो। पञ्चायत काल देखिनै राजनीतिमा सक्रिय रहे पनि आफै पद लिने लालसा कहिल्यै नदेखाएका दिव्यमणी २०७४ सालमा भएको सङ्घीय संसद्को निर्वाचन पछि भने सङ्घीय सांसद रहेका छन्।

सांसदको हैसियतमा रहँदा सबैभन्दा बढी क्रियाशील सांसदको छवि बनाएका दिव्यमणी संसद्को समितिहरूमा पनि त्यतिकै गहन छलफलमा सहभागी भइरहेका पाइन्छन्। विषयप्रति राम्रो बुझाइ राख्ने र त्यसलाई प्रस्टसँग राख्ने राजभण्डारी स्वच्छ छविका कारण पनि परिचित छन्। निष्ठाको राजनीतिमा विश्वास राख्ने उनी संसद्मा पनि सबै दलसँग राम्रो समन्वय गर्ने सांसदमा पर्छन्। राज्यका सबै अङ्गहरू समावेशी चरित्रको बनाउनु पर्ने दबाब रहँदै आएको छ। मन्त्रीपरिषद् पनि समावेशी बनाउनु पर्ने अवस्थामा प्रधानमन्त्री देउवाका लागि आदिवासी जनजाति कोटाबाट सांसद बनेका राजभण्डारी मन्त्री बनाउने एउटा उपयुक्त पात्र हुन सक्छन्। 

सांसद भएदेखि संसद्मा प्राप्त जिम्मेवारी निष्ठापूर्वक निभाएका राजभण्डारी देउवा मन्त्रीपरिषद्मा कुनै पनि विकासे मन्त्रालयको नेतृत्वका लागि उपयुक्त पात्र हुन्। विकासेसँगै पर्यटन, उद्योग वाणिज्य क्षेत्रको पनि नेतृत्व गर्न सक्ने क्षमता उनले विगतमा संसद्को परराष्ट्र समितिमा काम गरेबाट पनि पुष्टि गरिसकेका छन्। 

व्यावसायिक जीवनमा रहँदा नेपाल जर्मन च्यामबर अफ कमर्स र नेपाल युरोप च्यामबरको पनि नेतृत्व गरिसकेका राजभण्डारी राष्ट्रियसँगै अन्तर्राष्ट्रिय स्तरमा छवि बनाएका नेता हुन्। राजभण्डारीलाई मन्त्रीपरिषद्मा ल्याउन सके देउवा नेतृत्वको सरकारको छविलाई थप उजिल्याउन बल पुग्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ