बालकोट पुगेर ओलीले भने : षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो, नेपाललाई ठाउँ छैन
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
1.9k
Shares
तस्बिर : रासस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । बुधवार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गरे ।
उनले भने, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उनका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”
अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उनले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरियो बताए । उनले भने, “जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।”
अध्यक्ष ओलीले सबैलाई पुग्ने खोपको व्यवस्था आफनो नेतृत्वको सरकारले गरिसकेकाले कसैलाई खोपको कमी नहुने दाबी गरे । उनले भने, “हामीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था गरिसकेका छौँ । खोपको कुनै कमी छैन, मैले हिजो नै भनेको थिए, खोपको व्यवस्था मैले गरिसकेको छु, विभिन्न देशबाट छिट्टै खोप आउँछ तर मैले खोप ल्याएँ भनेर कसैले भन्छ भने त्यो लाजमर्दो हुन्छ ।”
अध्यक्ष ओलीले सरकारी निवास बालुवाटार छाडेर बालकोट पुग्दा हजारौँ कार्यकर्ताले सडकमै बसेर स्वागत गरेका थिए । एमालेका केन्द्रीय सदस्य महेश बस्नेत इञ्चार्ज रहेको युवा सङ्घ नेपाल र युथ फोर्सका स्कर्टिङमा बालुवाटारबाट निस्केको र्याली दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, कौशल्टार हुँदै बालकोट पुगेको थियो । “पानीमा भिज्दै ओलीको समर्थनमा नाराबाजी गर्दै बालकोट आएको र्यालीमा बाजा गाजासहित पुष्पगुच्छा अर्पण गर्दै स्थानीयवासीले स्वागत मात्रै गरेनन्, अभिनन्दनसमेत गर्न भ्याए ।
सडकमा दायाँबायाँ हातमा फूल लिएर बसेको सयौँ नागरिकले अध्यक्ष ओलीको गाडी रोकेर फूलका थुँगा दिएका थिए भने ओली निवासमा सूर्यविनायक नगरपालिकाको तर्फबाट नगरप्रमुख वासुदेव थापाले अभिनन्दन गरे । सडकदेखि घरको छतमा बसेर नागरिकले फूलका गुच्छाले स्वागत गर्नुका साथै नागरिकले अभिनन्दन गरेका थिए । र्यालीमा कार्यकर्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधवकुमार नेपालविरूद्ध नाराबाजीसमेत गरेका थिए ।