arrow

जाँदाजाँदै ओली सरकारको जनतामाथि डण्डाः यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
kathmandu-jam-vehicle.JPG
तस्वीर–फाइल ।

काठमाडौं । असार २९ गते बनेको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो  ? यसको जवाफ सरकारका एक मन्त्रीले दिएका छन् –  ‘होइन ।’ कसले बढायो त एकाएक सार्वजनिक सवारी साधनको भाडा ?
 
यो प्रश्नको जवाफ भौतिक पूवार्धार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले निकालेको एक सूचनाले दिएको छ । सो सूचनाअनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना महामारीको मौका छोपी सार्वजनिक यातायातको भाडा बढाएको हो ।
 
२०७८ असार २७ गते भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा सार्वजनिक यातायातको भाडा बढेको जनाएको छ ।

सूचनाअनुसार ओली नेतृत्वको सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वा दुईभन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा जनाइएअनुसार लामो दूरीका यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक साधनमा २० प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको सूचनामा उल्लेख छ । 

सो भाडा २९ असारबाट लागू हुने सूचनामा भनिएको छ । यसअघि पनि ओली नेतृत्वको सरकारले नै २०७५ असोज ७ गते बजार अध्ययन बिना नै १० प्रतिशत भाडा बढाएको थियो । 

त्यसबखत बिना अध्ययन भाडा वृद्धि गरिएको भन्दै चर्को विरोध भएको थियो । अहिले भने कोरोना महामारीका कारण राजधानीलगायत देशका विभिन्न स्थानमा लामो दूरीका सवारी साधन बन्द छन् । यही मौका छोपेर ओली नेतृत्वको सरकारले सरकारबाट बिदा हुँदै गर्दा भाडा बढाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ