सरकारमा नेतृत्व गरेर जान माओवादीमा तछाडमछाड, नारायणकाजीले पनि गरे मन
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
2.4k
Shares
तस्वीर–फाइल ।
काठमाडौं । पाँच दलीय गठबन्धनको मूख्य घटक नेकपा माओवादी केन्द्रबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने बारेमा तछाडमछाड शुरु भएको छ । कांग्रेससँगको सहकार्यमा माओवादी केन्द्रको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले मन गरेको भएपनि प्रचण्डले तत्काल मन्त्रालय नटुंगिएको भन्दै रोकेपछि विवाद शुरु भएको हो ।
मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तत्काललाई जनार्दन शर्मा र पम्फा भुषाललाई मात्रै मन्त्री बनाएर पठाउने, अहिले मन्त्रालय टुंगो लागिसकेको छैन भनेपछि सरकारको नेतृत्व जनार्दन शर्माले नै गरेका हुन् कि भन्ने अनुमान गरिएको छ । तर परराष्ट्र, भौतिक योजना जस्ता महत्वपूर्ण मन्त्रालय बाँकी रहेकाले त्यसमा माओवादीले उपप्रधानमन्त्रीसहित दाबी गरिरहेको छ । ‘उपेन्द्र यादवले पनि उपप्रधानमन्त्रीसहितको महत्वपूर्ण मन्त्रालय दाबी गरेकाले माओवादीमा श्रेष्ठले सम्हाल्ने मन्त्रालय बाँकी नरहने हुँदा उनको सरकारमा जाने रहर मात्रै होला’, माओवादी निकट स्रोतले भन्यो ।
माओवादीमा पहिलो चरणमै मन्त्री हुन खोजेका देवेन्द्र पौडेललाई पनि मन्त्रालय नटुंगिएको भन्दै रोकिएको छ । रामबहादुर थापा बादल समूहबाट प्रचण्ड खेमामा आएकी भुषाललाई र प्रचण्डका विश्वासपात्रका रुपमा रहेका शर्मालाई भने पहिलो चरणमै मन्त्री बनाएर पठाइएको छ । शर्माले गृहमा रहर गरेको भए पनि गृह कांग्रेस आफैंले राखेपछि शक्ति सन्तुलनका लागि माओवादीलाई अर्थ र उर्जा जस्ता महत्वपूर्ण मन्त्रालयल दिइएको छ ।
माओवादीले परराष्ट्र र भौतिक योजना पनि मागिरहेकाले नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने संभावना रहेको छ । ‘नारायणकाजी श्रेष्ठको रहर परराष्ट्र र भौतिक योजना मन्त्रालयमा पनि छ यी दुईमध्ये एक मन्त्रालय पाए उहाँ उपप्रधानमन्त्रीसहित सरकारमा जाने संभावना रहेको छ’, माओवादी निकट स्रोतले भन्यो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका मन्त्रीलाई माओवादीले यसपटक प्राथमिकतामा राखेको छैन । वर्षमान पुन, शक्ति बस्नेत, बिना मगरलाई मन्त्री नबनाउने प्रचण्डले देव गुरुङ, चुडामणी खड्कालाई मन्त्री बनाउन चाहिरहेका छन् । हरिबोल गजुरेल पनि मन्त्री बन्ने लाइनमा भए पनि नेकपा कालमा ओलीतिर निकट रहेकाले उनलाई प्रचण्डले परीक्षणकालमा राखेको स्रोतको दाबी छ ।
प्रचण्डकै पूर्व बडीगार्ड हेमकुमार राई पनि मन्त्रीका लागि दौडधुप गरिरहेका छन् । यद्यपि उनीभन्दा सिनियर गणेशमान पुन र उनकी श्रीमती कमला रोका मगर पनि मन्त्री माओवादीबाट मन्त्रीको दाबी गरिरहेका छन् ।