arrow

वीर अस्पतालमा अख्तियार प्रमुख राई र स्वास्थ्य सचिव अर्यालको नाममा मनोमानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
NAMS-bir-hospital.jpg
फाइल तस्बिर

काठमाडौँ। देशकै पुरानो र ठुलो वीर अस्पतालमा मेडिकल माफियाको चाहाना बमोजिम स्वास्थ्य सचिव लक्ष्मण अर्यालले मनोमानी गरेको कर्मचारीहरूले बताएका छन्।

कोभिडको नाममा हुने उपकरण खरिद र कर्मचारी भर्नामा आफू अनुकूल नियुक्ति र ठेक्कापट्टा दिन स्वास्थ्य सचिव अर्यालले स्वायत्त चिविराप्र प्रतिष्ठान ऐन विपरीत जेठ ६ गते कोभिड १९ अध्यादेश जारी गराइ सो मार्फत वीर अस्पताल प्रतिष्ठानबाट अलग गराई स्वास्थ्य मन्त्रालय मातहत राखेका थिए।

यससँगै स्वास्थ्य क्षेत्रकै विवादित, काठमाडौँ जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गरी जरिवाना तिराएका, स्वास्थ्य मन्त्रालयले नै ग्रेड घटुवा गरेका, सरकारी कर्मचारी भएर विभिन्न अस्पताल लगायत उद्योगमा करोडौँ शेयर लगानी गरेका डा जागेश्वर गौतमलाई कोभिड वीर अस्पतालको प्रमुखमा नियुक्ति दिएका छन्।

सचिव अर्यालले डा जागेश्वरकै व्यापारिक साझेदार सुन्दर भुसालको म्याक्सिम भन्ने सर्जिकल सामान सप्लाई गर्ने फर्मलाई तीन दिनको समय दिएर २५करोडको ठेक्का दिई सकेका छन्। उनले टेन्डरको प्रक्रिया मिलाउन टीचिंग अस्पतालबाट हटाइएकी र म्याक्सिम ट्रेडमै काम गर्ने भावना बराललाई वीर अस्पतालमै नियुक्ति दिएका छन्।

म्याक्सिमसँग स्वास्थ्य सचिवको सम्बन्ध स्वाभाविक खालको नभएको एक सर्जिकल सप्लाएर्स बताउँछन्। सचिव अर्यालले डा जागेश्वर, अहेव नवराज श्रेष्ठ, अग्निधर बस्याल,डा अच्युत कार्की मार्फत वीर अस्पतालको नयाँ भवनलाई आवश्यक कर्मचारी भर्ना गर्ने, जागिर खानेहरूबाट रकम असुल्दै ठाडो निवेदन सङ्कलन गरिरहेको वीर अस्पतालकै कर्मचारीहरू आरोप लगाउँछन्। सचिव अर्यालले वीर अस्पतालका अहेव अग्निधर मार्फत मेडिकल बोर्डको सिफारिस बनाउनेको समेत कमिसन माग्ने गरेको वीर अस्पताल प्रशासनकै कर्मचारी बताउँछन्।

कोभिड विरुद्ध भ्याक्सिन कार्यक्रम भैरहवा वीर अस्पतालमा भ्याक्सिनेटर अहेव नवराज श्रेष्ठ, डा अच्युत कार्कीको समूहले आफूलाई स्वास्थ्य सचिव र अख्तियार प्रमुखको मान्छे हु भन्दै आफूनिकट व्यक्तिलाई उमेर समूह नमिले पनि अनियमित तरिकाले भेरोसेल खोप लगाएका छन्। निजहरूले यो भन्दा पहिले पनि विदेशी हरुलाई खोप लगाएर अनुचित लाभ लिएको आरोप लागेको थियो।

सोही कारण स्वास्थ्य मन्त्रालयले श्रेष्ठ र डा कार्कीलाई स्पष्टीकरण समेत सोधेको थियो। तर स्वास्थ्य सचिवलाई गुन लगाएर उनीहरू अहिले पुनः वीर अस्पतालमा भ्याक्सिनको जिम्मेवारी सम्हाल्न आइपुगेका छन्।

अहेव श्रेष्ठले ग्यास्टोमा आउने बिरामीलाई वीर अस्पतालमा यी यी जाँच हुँदैन भनेर बाहिर निजीमा पठाउँदै सो बापत कमिसन लिने गरेको आरोप समेत लाग्दै आएको छ। उनीहरू अहिले पनि स्वास्थ्य सचिवका मान्छे हौँ भन्दै सबै कर्मचारीलाई थर्काउँदै अन्य कर्मचारीको बारेमा विभिन्न निकायमा झुटो उजुरी दिँदै हिँड्ने गरेको एक पीडित कर्मचारीले दुखेसो गरे। आफ्नो अनियमितताको बारेमा थाहा नहोस् भनेर वीर अस्पतालको भ्रष्ट्राचार र अनियमितताको बारेमा आवाज उठाउने कर्मचारीको बारेमा उनीहरू नै उजुरी दिँदै हिँड्ने गरेको समेत बताइएको छ। 

अहेव अग्निधरले त अहिले मेडिकलमा बिरामी प्रमाणित गर्दा, विदेश जाने, पुलिस र आर्मीका बिरामी देखाएर जागिर छोड्नेहरूसँग ९०हजार देखि दुई लाखसम्म लिँदै मेडिकल बोर्डको सिफारिस बनाउने गरेको निर्देशक कार्यालय स्रोत बताउँछ।अहिले डा अच्युत सुवेदी, अहेव अग्निधर, नवराज श्रेष्ठ आफू अख्तियार प्रमुख निकट हु भन्दै अस्पताल प्रशासनलाई धम्काउने,आफूनिकटलाई टेन्डर दिन दबाब दिने,आफ्ना मान्छेलाई जागिर खुवाउन दबाब दिने गरेका छन्।

नयाँ भवनको करोडौँको ठेक्का आफूनिकटलाई दिनुपर्ने भन्दै वीर प्रशासन, कानुन, र लेखा शाखालाई दबाब दिने गरिरहेको वीर प्रशासनका एक उच्च अधिकारी बताउँछन्। डा जागेश्वर, डा अच्युत कार्की, अहेव नवराज श्रेष्ठ, अहेव अग्निधरलाई अख्तियार, सतर्कता र सम्पत्ति शुद्धीकरण मार्फत छानबिन सहित कारबाही गरी  तत्काल अस्पतालले सरुवा नगर्ने हो भने वीर अस्पताल सधैँ अशान्त हुने प्रशासनका एक अधिकृत बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ