बनेपा । भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ । जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
“विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको छ”–जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले भने । उनले झण्डै दुई सातादेखि जिल्लामा रहेका झण्डै १०० स्वास्थ्य संस्थामा औषधिको अभाव भएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयलाई समेत पत्राचार गरिएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयबाट अहिले करिब ४० किसिमका औषधिको वितरण भएको उल्लेख गर्दै उनले भने, “स्वास्थ्य संस्थाबाट औषधि माग भइरहेको छ, तर हामीले दिन सकिरहेका छैनौँ ।” धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा राजेन्द्र कोजुले पनि अस्पतालमा औषधि अभाव हुन थालेको बताए ।