- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । गत सोमवार असार २८ गते हाम्राकुरा डटकममा प्रकाशित “दलाले पैसा दिएको चार वर्ष सम्म झुक्काए,फिर्ता माग्दा उल्टै थर्काए” शीर्षकमा लेखिएको समाचार हटाउन पैसा खाएर सम्पर्क विहीन भएका पाल्पाका मेनपावर एजेन्ट विमल कुमार प्रधानले पीडित सुमन सुनारलाई पटक-पटक दबाब दिएको पीडित सुनारले बताएका छन् ।
विदेश पठाउने भन्दै पैसा उठाएका प्रधानले विदेश पठाउन नसकेपछि, अझै सम्म उक्त पैसा फिर्ता गरेका छैनन् । ४ वर्ष अगाडि विदेश पठाउने भन्दै पैसा लिएका उनै दलाल प्रधान पैसा लिएपछि सम्पर्क बाहिर भएको पीडित सुनारको भनाई छ । पीडित सुनार भन्छन्, विदेश नपठाएपछि, साहुसँग कर्जा लिएर पैसा फिर्ता दिनुस् म व्याजमा थप मर्कामा परे भन्दा कुनै सुनुवाइ नगरेको बताए ।
४ वर्ष सम्म पैसा नपाएपछि, न्यायका लागि भन्दै, हाम्रा कुराकर्मी समक्ष आएपछि गत सोमवार समाचार प्रकाशित गरिएको थियो । समाचार प्रकाशित भएपछि, पैसा खाएर सम्पर्क विहीन भएका प्रधानले लगत्तै फोन गरी पीडित सुनारलाई बारम्बार समाचार हटाउन दबाब दिएको पीडित सुनारको भनाई छ ।
फोनमा, दलाल प्रधानले सबै सञ्चार संस्था भ्याए पनि, जहाँ गए पनि आफूलाई केही फरक नपर्ने समेत दबाबपूर्ण चुनौती दिएको सुनारले सुनाए । सुनारले भने, ठाडो चुनौती दिएर वोल्ने दलालबाट आफू असुरक्षित समेत वनेको बताए ।
वैदेशिक रोजगारीको लागि पहिले (युएई) पछि युरोपियन देशमा पठाउने भन्दै, दुई पटक गरी भारतको नयाँ दिल्ली सम्म पुर्याएर अन्ततः एक महिना राखेर स्वदेश फिर्ता गर्ने पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ का विमल कुमार प्रधानले विदेश पटाउनु भन्दा पहिले नै लिएको पैसा अझै सम्म फिर्ता दिएका छैनन् ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोटका स्थायी वासी हाल रुपन्देहीको बुटवल १३ मा बस्दै आएका सुमन सुनार सँग लिएको ३ लाख रुपैयाँ अझै सम्म फिर्ता गर्न नसकेको पाइएको हो । ४ वर्ष अगाडि विदेश जानका लागि भन्दै, मेनपावर एजेन्ट विमल कुमार प्रधानले भिसा आइसक्यो, अव सबैले पैसा बुझाउनु पर्यो भनेपछि, मैले पैसा दिएको हुँ, पीडित सुनारले भने ।
२०७५ साल पुस २३ गते लिखित तमसुक गरेका दलाल प्रधानले हाल सम्म सो रकम फिर्ता नगरी पीडितलाई थप पीडित गराएका छन् । पीडितका दाजु शुक्र विकले भने, हामीले धेरै पटक पैसा फिर्ता माग्यौ, तर उहाँले वास्तै गर्नुभएन, । एक दिन वेलवास आएको फेला पारेपछि, हामीले समातेर नयाँ गाउँ प्रहरी चौकीमा लगेर बुझायौ, प्रहरीले पैसा फिर्ता गर्नुपर्ने भन्दै २०७६ साल भदौ ११ गते नेपाल एक्सप्रेस फाइनान्स लिमिटेडको नाममा रहेको चेकमा ३ लाख रुपैयाँ काट्न लगाएको बताए ।
भाग्दै, हिँडेका दलाल प्रधानले पछिल्लो समय समाचार प्रकाशित भएपछि, पीडितलाई फोन मार्फत दबाब दिँदै आएको बताइएको छ । यस विषयमा यसअघि हाम्रा कुरासँग कुरा गर्दै प्रधानले पैसा खाएको स्विकार गर्दै, आफूले दिने बताएको भए पनि उनी सम्पर्कमा आउन चाहेनन् । बरु, उनले आफू पनि पत्रकार भएको झुटो वोलेर पन्छिन खोजे ।
यता, वैदेशिक रोजगार विभागले विदेश पठाउने नाममा पैसा खाएर भागेका जो कोही कुनै दिन अवश्य कानुनी दायरामा आउने बताएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने, पीडितले उजुरी पेस गरेमा अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी पक्रिया अगाडि बढाइने जनाएको छ ।