arrow

प्रदेश १ मा पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरू गर्दै नोबेल अस्पताल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
nobel-hospital.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गरिने भएको छ । प्रदेश नं १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा विभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।

मृगौला प्रत्यारोपण सम्बन्धी सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ । 

मृगौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । ‘मेनपावर, इन्फास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा शुरू हुन्छ,’ डा. श्रेष्ठले भने ।

मृगौला प्रत्यारोपणका लागि डा. श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ । मृगौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ । 

अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मृगौला प्रत्यारोपण सेवा थालिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । उनी भन्छन्, ‘सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि यही महिनाबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मृगौला प्रत्यारोपण गर्न थाल्छौ ।’

नोबेलले अहिले मृगौला प्रत्यारोपण बाहेक मृगौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवालीसहितको टिमसँगको समन्वयमा मृगौला प्रत्यारोपण शुरू गरिने छ । मुख्यगरी दुबै मृगौला ‘फेल’ भएका व्यक्तिलाई अर्को व्यक्तिको मृगौला प्रत्यारोपण गरेर ज्यान बचाउने गरिन्छ । 

यो सेवा अहिले काठमाडौंमा मात्र उपलब्ध छ । नोबेलले मृगौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका विरामीलाई पनि धेरै सहज हुने नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले स्तरीय उपचार सेवा विस्तारमा तीब्रता दिइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ