arrow

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ  : गृहमन्त्री खाँड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
bal-krishna-khad-home-minister-cooprative.jpg

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन्। उनले भने, ‘बैङ्क तथा वित्तीय क्षेत्र जतिकै महत्त्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताए।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्त्वलाई यस सरकारले बुझेको छ। सरकार सहकारीलाई महत्त्व दिएर अगाडि बढ्ने छ।’ उनले राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबार बिहान भएको भेटमा सो कुरा बताएका छन्।

राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए। उनले महासङ्घको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताएका छन्।

महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। गृहमन्त्री खाँडले सो विषयमा कर्मचारी हुँदै सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने बताए।

महासङ्घका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाँडलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो। सो भेटमा महासङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, सञ्चालक खेम पाठक, सञ्चालक तथा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष किवी उप्रेती, सञ्चालक  डिवी बस्नेत, राजेन्द्र पौडेल, सागर ढकाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ