arrow

वर्षाका कारण १३ सङ्घीय सडक अवरुद्ध

logo
सञ्चिता घिमिरे
प्रकाशित २०७८ साउन ५ मंगलबार
road-.jpg

काठमाडौँ । असारदेखि निरन्तर वर्षाका कारण हाल १३ सङ्घीय सडक अवरुद्ध बनेका छन् । असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सुचारु रहेको सडक विभागले जनाएको छ ।  

दैलेख जिल्लामा कर्णाली राजमार्गका जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा सडक आज अवरुद्ध बनेको छ । रसुवा जिल्लाको ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक असार २७ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । 

सो सडकको त्रिशूली खोला, सानो भार्खु खोला, गाँजाबारीमा अवरुद्ध छ । यस सडकखण्ड तत्काल मर्मत गर्नुभन्दा पनि वैकल्पिक सडक बनाइएको छ । यस खण्डमा वर्षात्को समयमा धेरै ठाउँमा पहिरो खस्ने र निर्माण गरे पनि अवरुद्ध हुने भएकाले वैकल्पिक सडक खुलाइएको हो । 

डुम्रे-बेँसीशहर-चामे सडकअन्तर्गत लमजुङको रामबजार, अर्गले, च्याम्चेलगायतका स्थानमा सडक अवरुद्ध छ । अरनिको राजमार्गको लिपिङ्ग पुल अवरुद्ध छ । डुम्रे-बेँसीशहर-चामे सडकअन्तर्गत तनहुँ जिल्लाको भन्सारमा गत महिना १७ गतेबाट अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । सोही सडकको तिमाङ छहरा सडक अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । 

सङ्घीय सडकअन्तर्गतका विभिन्न सडक असारदेखि अवरुद्ध भएकामा दुवैतर्फ सञ्चालन हुन नसकेका स्थानमा विभागले एकातर्फ मात्रै खुलाएर सवारी सुचारु गरिएको छ । 

तत्काल पूरै सडक खुलाउन नसकिने स्थानमा पनि एकातर्फको पहिरो पन्छाएर पैदलयात्रु र सवारी साधन चल्न सक्ने बनाइएको विभागले जनाएको छ । सडकमा पहिरो खसेपछि खुलाइएको भए पनि सडक वा पुल नै बगाएका स्थानमा बढी समय लागेको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा, साँफेबगर-मार्तडी-कोल्टी सडक बल्दे-अमकोट खण्डमा सडक अहिले एकातर्फबाट मात्रै सञ्चालनमा छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाङ्गेसिमल, कालाखाला सैनसडकखण्ड, दरबाटे, बोटखाला सडकखण्ड पनि एकातर्फबाट मात्रै सञ्चालनमा छ । 

खोड्पे-चैनपुर सडक बैतडीको ढोल्यामोड र बझाङको तमैल कचाली र हडडे खोला, रिला, वलेनामा आंशिकरुपमा मात्रै सञ्चालनमा आएको छ । कालीकोटमा बालीघाट, धनाडा र भिग्ममा सडक एकातर्फबाट मात्रै सञ्चालनमा ल्याउन सकिएको छ ।

विभागअन्तर्गतका डिभिजन सडक कार्यालय र हेभि इक्युपमेन्ट कार्यालयले अवरुद्ध सडक खुलाइरहेका छन् । ती कार्यालयले आफूसँग भएका उपकरण र आवश्यक भएमा अरु कार्यालयबाट थप उपकरण माग गरेर अवरुद्ध खुलाइरहेका हुन् । चालू आवमा बढी वर्षा भइरहेकाले धेरै सडक अवरुद्ध छन् । 

असारको पहिलो सातामा नै भारी वर्षा भएकाले अहिलेसम्म धेरै क्षति भएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार चालू आवमा गत आवभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । त्यहाँ कति रकम बराबरको क्षति भएको छ भनी यकिन भने छैन । उनले भने, “प्राविधिक गएर हेरेपछि मात्रै वास्तविक क्षति थाहा हुनेछ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ