arrow

यसकारण थुनिए टेलिकमका प्रवन्ध निर्देशक अधिकारी रातभर कार्यकक्षमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
telecome-karmachair-dharna-.jpg

काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी रातभर आफ्नो कार्यकक्षमै थुनिएका छन् । उनलाई टेलिकमकै कर्मचारीले गत मंगलबार रातभर कार्यकक्षमै थुनेका हुन् । 

कर्मचारी विनियमावली संशोधनमा तल्लो तहका कर्मचारीको अधिकार कटौती गरेको आरोप लगाउँदै टेलिकमका प्रवन्ध निर्देशक अधिकारीलाई कर्मचारीहरुले कार्यकक्षमै थुनेर रातभर धर्ना दिएका हुन् ।
 
तल्लो तहका कर्मचारीहरुको ८ वर्ष पूरा भएपछि स्वतः बढुवा हुने प्रावधान विनियमावली संशोधन गरी हटाइएको कर्मचारीहरुको आरोप छ । त्यसैगरी नेपाल टेलिकमको कर्मचारी विनियमावलीमा संशोधन गर्दै १० र ११ तहका कर्मचारीको क्रमशः ८ र ५ वर्षपछि स्वतः अवकाश हुने प्रावधान हटाइएको छ । 

साथै तल्लो तहका कर्मचारीहरुले विभिन्न अवस्थामा स्वतः तथा विशेष बढुवा पाउने व्यवस्था पनि यस विनियमावलीबाट हटाइएको कर्मचारी युनियनले आरोप लगाएको छ । विभिन्न समयमा आन्दोलन गरेर स्थापित भएका अधिकारहरु कटौती भएको उनीहरुको दाबी छ ।
 
पटक पटक भएको वार्ता तथा कर्मचारी युनियनले अघि सारेका माग पूरा गर्न बाचा गरे पनि संचालक समितिले पूरा नगरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।  माग पूरा नभए कर्मचारीहरु पुनः आन्दोलित हुने चेतावनी उनीहरुले दिएका छन् ।

कर्मचारीहरु र प्रबन्ध निर्देशकबीच मंगलबार बेलुकी छलफल गर्दासमेत निकास ननिस्किएपछि  कर्मचारीले प्रवन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमै थुनेर धर्ना दिएका थिए । बुधबार बिहान भने माग सम्बोधन गर्ने आश्वासनपछि कर्मचारीहरुले धर्ना छाडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ