arrow

नेपाल टेलिकमको मुल गेटमै कर्मचारीहरुको धर्ना, प्रवन्ध निर्देशकलाई प्रवेश निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
telecom.jpg

काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको नेतृत्वमा कर्मचारी विनियमावली संशोधन गरी तल्लो तहका कर्मचारीको अधिकार कटौती गरेको विरोधमा टेलिकमको केन्द्रीय कार्यालयमा कर्मचारीहरुले विहीबार पनि धर्ना दिएका छन् ।

टेलिकमका तीन वटै ट्रेड युनियन संगठनमा आवद्ध कर्मचारीले प्रवन्ध निर्देशक अधिकारीलाई मंगलबार रातभर आफ्नो कार्यकक्षमै थुनेर रातभर धर्ना दिएका थिए । विहीबार पुनः धर्ना कार्यक्रमलाई निरन्तरता दिंदै प्रवन्ध निर्देशक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको नेपाल टेलिकम वर्कस युनियनका केन्द्रीय सदस्य सुरेश रौनियारले जानकारी दिए ।

‘हिजो विहान उहाँ (प्रवन्ध निर्देशक)ले विनियमावली संशोधनको माइन्यूट गराएर आउँछु र लोकसेवा पठाउँछु भन्नुभएको थियो । तर अहिलेसम्म आउनुभएको छैन् । हाम्रो मागहरुलाई ढाकछोप गर्ने प्रयास हुँदैछ । यहाँ क्रियाशील सबै संगठनलगायत कर्मचारीहरु कार्यालयको मुलगेटमै धर्नामा छौं । भित्र काम भइरहेपनि प्रवन्ध निर्देशकलाई प्रवेश निषेध गरेका हौं,’ उनले भने ।

तल्लो तहका कर्मचारीहरुको ८ वर्ष पूरा भएपछि स्वतः बढुवा हुने प्रावधान विनियमावली संशोधन गरी हटाइएको कर्मचारीहरुको आरोप छ । त्यसैगरी नेपाल टेलिकमको कर्मचारी विनियमावलीमा संशोधन गर्दै १० र ११ तहका कर्मचारीको क्रमशः ८ र ५ वर्षपछि स्वतः अवकाश हुने प्रावधान हटाइएको छ ।

साथै तल्लो तहका कर्मचारीहरुले विभिन्न अवस्थामा स्वतः तथा विशेष बढुवा पाउने व्यवस्था पनि यस विनियमावलीबाट हटाइएको कर्मचारी युनियनले आरोप छ । विभिन्न समयमा आन्दोलन गरेर स्थापित भएका अधिकारहरु कटौती भएको उनीहरुको दाबी छ ।

पटक पटक भएको वार्ता तथा कर्मचारी युनियनले अघि सारेका माग पूरा गर्न बाचा गरे पनि संचालक समितिले पूरा नगरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।  माग पूरा नभए कर्मचारीहरु पुनः आन्दोलित हुने चेतावनी उनीहरुले दिएका छन् ।

कर्मचारीहरु र प्रबन्ध निर्देशकबीच मंगलबार बेलुकी छलफल गर्दासमेत निकास ननिस्किएपछि  कर्मचारीले प्रवन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमै थुनेर धर्ना दिएका थिए । बुधबार बिहान भने माग सम्बोधन गर्ने आश्वासनपछि कर्मचारीहरुले धर्ना छाडेका थिए । विहीबार पुनः धर्नालाई निरन्तरता दिइएको छ ।

बुधवारको वार्तामा प्रवन्ध निर्देशकले संचालक समितिबाट कर्मचारी र संस्था सरोकारका माग सम्बोधनसहित बिनिमय शंसोधन प्रस्ताव पारित गरि सो विषय लोकसेवा पठाउन दाबाबका लागि केन्द्रीय कार्यालयको मुल गेट अगाडि धर्ना कार्यक्रम राखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ