arrow

दार्चुलाका ४० प्रतिशत बालबालिका कुपोषित

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ साउन ७ बिहिबार
kuposan-e1450957600686.jpeg

दार्चुला । दार्चुलाका ४० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार जिल्लाका १३ हजार ४८ बालबालिकामध्ये ५ हजार २ सय ५ बालबालिकामा  कुपोषण देखिएको छ । 

६ देखि ५९ महिनासम्मका बालबालिकाको नाप तौल गर्दा कुपोषण देखिएको हो । दार्चुलामा १ हजार ३ सय २९ बालबालिकामा कडा शीघ्र कुपोषण तथा ३ हजार ८ सय ७६ बालबालिकाहरूमा मध्यम खालको कुपोषण देखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए । उनका अनुसार महाकाली नगरपालिकामा रहेका १ हजार ७ सय १४ बालबालिकामध्ये ६ सय ८४ जनामा कुपोषण देखिएको छ । 

यस्तै शैल्यशिखर नगरपालिकामा २ हजार १ सय २० बालबालिकामध्ये ८ सय ४६ जना, अपि हिमाल गाउँपालिकाका ६ सय ८० बालबालिकामध्ये २ सय ७१ जना, मार्मा गाउँपालिकाका १ हजार ७ सय २९ बालबालिकामध्ये ६ सय ९० जना, नौगाड गाउँपालिकाका २ हजार ५२ बालबालिकामध्ये ८ सय १८ मा कुपोषण देखिएको छ । 

यस्तै मालिकार्जुन गाउँपालिकाका १ हजार ४ सय ४१ बालबालिकामध्ये ५ सय ७१, लेकम गाउँपालिकाका १ हजार ४ सय ९ बालबालिकामध्ये ५ सय ६२, दुहुँ गाउँपालिकाका १ हजार बालबालिकामध्ये ३ सय ९९ र ब्याँस गाउँपालिकाका ९ सय ३ बालबालिकामध्ये ३ सय ६० जनामा कुपोषण देखिएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुले बालबालिकाको जेड स्कोर लिन थालेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले घरघरैमै गएर बालबालिकाहरूको पोषणको अवस्था मापन गर्न थालेका  हुन् । जस अनुसार दिनहुँ १०-१५ जना कुपोषित देखिँदै छन् । 

नाप, तौल लिन थालेपछि कुपोषणको डर लाग्दो अवस्था बाहिर आएको हो । हाल जिल्लामा ४८ जना नयाँ कुपोषित बालबालिका भेटिएका छन् । जसमा कडा कुपोषित २९ जना र मध्यम कुपोषण भएका १९ बालबालिका भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कुपोषित देखिएका ४८ बालबालिकाको उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ