arrow

'सत्तामा हुँदा एउटा कुरा गर्ने र विपक्षमा बस्दा अर्को गर्नेलाई कसैले महत्त्व दिन्नन्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
parliament-house.jpg

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरूले विगतको सरकारले विधि र कानुन मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताएका छन् ।

बैठकमा नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको घटना स्मरण गराए ।

उनले पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नपअनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको पनि बताए । उनले सत्तामा हुँदा एउटा कुरा गर्ने र विपक्षमा बस्दा अर्को कुरा गर्दा त्यसलाई कसैले पनि महत्त्व नदिने जिकिर गरे । 

कानुनअनुसार नचल्दा के हुन्छ भन्ने उदाहरणस्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको उनको भनाइ थियो । विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्यङ्ग्य गर्दै नेता सिंहले वर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता जाहेर गर्दै खोप, खोप र खोप भनेर तेहेर्‍याएको सन्दर्भ जोड्दै नेता सिंहले प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराए। उनले वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई पनि सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन् । 

संविधानको भावना र मर्मअनुरूप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकारले ध्यान नदिँदा थाती रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजरूपमा अघि बढाउन पनि अनुरोध गरे । 

कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र अग्रपङ्क्तिमा खटिनेको मनोबल बढाउने काममा लाग्न सररकालाई सुझाव दिए । आर्थिक क्षेत्र चलायमान गराउने सन्दर्भमा नागरिक र दल सबैको विश्वास आर्जन गर्दै नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित गर्न पनि अनुरोध गरे । 

नागरिकले चाहेअनुसारको गतिविधिलाई व्यवस्थापन गर्दै सरकार राष्ट्रिय हितलाई ध्यान राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएँ । उनले सन्तुलितरुपमा परराष्ट्र नीति अघि बढाउन पनि अनुरोध गरे ।

अर्को सत्तसाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले विसं २०४७ को संविधानमा टेकेर दुई-दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको बताए।

संविधानको भावना विपरीत कोही पनि जान नपाओस् भनेर संविधानमा नै स्पष्टरुपले दलले सरकार बनाउन नसक्दा बहुमत सदस्य भएपछि प्रधानमन्त्री हुन पाउने व्यवस्था राखिएको कुरालाई जोड दिँदै उनले अघिल्लो सरकारले पटक पटक कानुन मिचेको आरोप लगाए। 

पहिलो संसद् विघटन हुँदा तत्कालीन पार्टी नेकपामा र संसदीय दलमासमेत छलफल नभएका सन्दर्भ जोड्दै उनले प्रतिप्रश्न गर्नुभयो, “संसद् विघटन दलीय प्रणालीको विशेषता हो ? अनुशासन त्यही हो ? अनुशासन कसले मान्ने ? सबैभन्दा माथिकाले मान्ने हो नि ।” उनले थपे, “आफू अनुशासन पालना नगर्ने, पार्टीलाई बेवास्ता गर्ने, लिखित सम्झौता पूरा नगर्न, अनि ठुला कुरा गरेर हुन्छ ?” उनले अहिलेको यो जीत जनताको जीत हो भने । सबै नेताको साथ पाएर आज यो ठाउँमा मुलुक आइपुगेको बताए । 

नयाँ निरङ्कुशता लाद्ने प्रयास असफल भएको उल्लेख गर्दै उनले अहिलेको सरकार अदालतबाट नभई निर्वाचित सांसदको बहुमतले बनेको प्रष्ट्याए । उनले अदालतले संविधानको व्याख्या मात्रै गरेको हो भने । 

संविधानको व्याख्या अदालतले गर्नुपर्ने अवस्था दलले नै सिर्जना गरेको दाबी उनले गरे । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)तर्फ सङ्केत गर्दै उनले भने, “दुई-दुई पटक अदालतमा जानुपर्ने स्थिति कसले सिर्जना गर्‍यो ?” 

मुलुकलाई सङ्कटबाट बचाउन महत्त्वपूर्ण योगदान दिने पाँच राजनीतिक दललाई उनले धन्यवाद पनि दिए । उनले मुलुकलाई सही दिशामा लैजानका लागि प्रधानमन्त्री देउवालाई महत्त्वपूर्ण अवसर प्राप्त भएको भन्दै कार्यकाल सफलताको शुभकामना दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ