arrow

कामपामा आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ ।    उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ ।  यसको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजीका क्रममा कामपाले यस किसिमको अभियान थालनी गरेको जनाएको छ । 

वर्षाका समयमा पर्ने पानीको उपयोग गरी अभियान सहयोग पुग्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले पानीको वर्तमान तथा भाबी सङ्कटलाई दृष्टिगत गरेर महानगरले दुई वर्षअघिदेखिनै  पुनर्भरण अभियान शुरु गरेको बताए ।  

अभियानअन्तर्गत गोङ्गबु र रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनः स्थापना गरिएको छ । पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुना उद्यान र टुँडालदेवी उद्यानको विकास र संरक्षणको कार्य थालेको छ  । कामपाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

पुराना ढुङ्गेधाराको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । पुनर्भरण इनारको स्थापना, पानी बगैँचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको पनि उपयोग गर्दै आइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ