arrow

नवनियुक्त मन्त्रीले भने - गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई नै अग्रस्थानमा पुर्‍याउँछु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
mekhlal-shrestha.JPG

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई नै अग्रस्थानमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

आजै नियुक्त भएका मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले शिक्षालाई प्रभावकारी बनाउनका लागि कार्यविधि बनाएर अगाडि बढ्ने योजना तयार पारेको बताए ।

असल नागरिक तयार गर्नका लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक पर्ने भन्दै उनले असल शिक्षकको नेतृत्वबाट नै कर्मठ र ऊर्जावान् विद्यार्थी उत्पादन गर्न सकिने स्पष्ट पारे ।
 
कोभिड र बाढी पहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नका लागि आवश्यक कदम चाल्नेसमेत उनले बताए । मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले शिक्षालाई उदाहरणीय रूपमा अघि बढाउने बताए । 

ज्येष्ठ नागरिकलाई सम्मान दिएर बालबालिकाको स्याहार-सुसार गरी भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको उनले बताए । उनले महिला हक हितका लागि ११ वटै जिल्लामा केन्द्रको स्थापना गर्ने मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले बाढी पहिरोबाट क्षति भएका विद्यालयहरूको विवरण सङ्कलन गरी पठनपाठन सञ्चालन गर्नका लागि सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।

कोभिडबाट प्रभावित शिक्षक एवं विद्यार्थीहरूको लगत सङ्कलन गरी आवश्यक अनुसार मनोसामाजिक परामर्श उपलब्ध गराइनुका साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा विद्यार्थी एवं शिक्षकहरूको नियमित स्वास्थ्य परीक्षण गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ