- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको छ ।आयोगले जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’का लागि आयोगमा बोलाएको हो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरुलाई नागरिकताहित सशरीर उपस्थित हुन आयोगले आदेश दिएको छ। जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ ।
अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरुको भएको दाबी गरिरहेका छन् । ठाकुर पक्षले पनि जसपा आफूहरुको हुनुपर्ने बताइरहेको छ ।
पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि सोमबारका लागि बोलाएको हो ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिनुभएको थियो । तर हिजो सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेपछि आयोगलाई हस्ताक्षर सनाखत गर्न बाटो खुलेको हो ।
आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ ।.प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरुपण गरिँदैछ ।
आयोगले जसपाको आधिकारिकताको विवादका विषयमा इजलास गठन गरेर विवादको छिनोफानोको प्रयास गरिरहेको थियो । आयोगले राजनीतिक दल सम्वन्धि ऐनको व्यवस्था अनुसार जसपाको विवाद निरुपणको प्रक्रिया अघि बढाउँदै आइरहेको थियो ।
सो अनुसार नै आयोगले प्रमुख निर्वाचन आयुक्तको संयोजकत्वमा इजलास गठन गरेर विवाद निरुपणका लागि बहस र सुनुवाइ गर्दै आइरहेको छ । आयोगले कानुनी प्रक्रिया अनुसार नै सोमबार केन्द्रीय कार्यकारिणी समितिमा रहेका जसपाका सबै सदस्यहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले सोमबार नै नागरिकता वा मतदाता परिचयपत्रका आधारमा जसपाका कार्यकारिणी समितिलाई सनाखत गरेर कुन पक्षमा कति सदस्य छन भन्ने यकिन गर्दै जसपाको आधिकारिकताको टुंगो दिने भएको हो ।