arrow

नेपालमा ८१ लाख डोज खोप भित्रियो, ४७ लाख डोज खपत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
corona-India_khop.jpg

काठमाडौं । नेपालमा आइतबारसम्म ५९ लाख ३६ हजार ७९ डोज कोरोना भाइरसविरुद्धको खोप खपत भएको छ । यीमध्ये ३३ लाख ८३ हजार ३८ जनाले एक डोज मात्रै लगाएका छन् भने, १३ लाख ९८ हजार १ सय ७८ जनाले दुवै डोज खोप लगाएका छन् ।

कुल कति खोप भित्रियो ?

नेपालमा हालसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप भित्रिएको छ । जसमध्ये ११ लाख भारतबाट अनुदान प्राप्त, १० लाख भारतबाट खरिद र ३ लाख ४८ हजार डोज कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको हो ।

यस्तै नेपालमा हालसम्म ४२ लाख डोज भेरो सेल खोप भित्रिएको छ । जसमध्ये १८ लाख चीन सरकारबाट अनुदान प्राप्त र २४ लाख डोज खोप खरिद गरिएको हो ।

यस्तै नेपालमा हालसम्म जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप भित्रिएको छ । यो सबै कोभ्याक्स सुविधाबाट अमेरिकी सरकारले अनुदान दिएको हो । तीनै वटा खोप गरी नेपालमा हालसम्म ८१ लाख ८२ हजार ८ सय ५० डोज खोप भित्रिएको छ ।

कतिले कुन खोप लगाए ?

नेपालमा २२ लाख ८८ हजार ७९२ डोज कोभिसिल्ड खोप लगाइसकिएको छ । यीमध्ये १८ लाख २८ हजार ४८४ जनाले एक डोज र ४ लाख ६० हजार ३०८ जनाले दुवै डोज लगाएका छन् ।

नेपालमा २२ लाख ४९ हजार १०९ डोज भेरोसेल खोप लगाइसकिएको छ । यीमध्ये १५ लाख ५४ हजार ५५४ जनाले एक डोज र ६ लाख ९४ हजार ५५५ जनाले दुवै डोज लगाएका छन् ।

यस्तै नेपालमा २ लाख ४३ हजार ३१५ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । यो खोपको एकै मात्रा लगाएक पुग्छ ।

तीन वटै गरी नेपालमा हालसम्म ४७ लाख ८१ हजार २१६ डोज खोप सञ्चालनमा आएको छ । बाँकी ३४ लाखमध्ये केही खोप खेर जाने हुँदा बाँकी खोप स्थानीय तहमै रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा.झलक शर्मा गौतमले बताएका छन् ।

तीन प्रदेशमा मात्रै जोन्सनको खोप

अमेरिकाबाट अनुदान प्राप्त जे एण्ड जे खोप तीन प्रदेशमा मात्रै सञ्चालनमा आएको छ । आइतबारको तथ्यांक अनुसार यो खोपको २ लाख ४३ हजार ३१५ मात्रा प्रदेश नम्बर २, बाग्मती र गण्डकी प्रदेशमा मात्रै लागेको छ । प्रदेश १, लुम्विनी, कर्णाली र गण्डकी प्रदेशमा यो खोप लागेको छैन् ।

जे एण्ड जे खोप लगाउने तयारी

चीनबाट खरिद गरेर आएको भेरोसेल र जोन्सनको खोप हिजो आइतबार मात्रै सुदुरपश्चिम पुगेको छ । सो खोप आज या भोलिदेखि नै लगाउने तयारी रहेको प्रदेश सचिव रघुराम विष्टले बताए । यस्तै प्रदेश १ , लुम्बीनी र कर्णाली प्रदेशमा पनि खोप पुगेसँगै लगाउने देखिएको छ ।



नयाँ