- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्केनसँग मङ्गलवार साँझ भएको हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप खोप सहयोगका लागि अनुरोध गरेका हुन्।
अमेरिकी विदेश मन्त्रीले देउवालाई टेलिफोन गरेर उनी प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेको तथा त्यस अवसरमा उनीहरूबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कोभिड विरुद्ध १५ लाख मात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसङ्ख्यालाई पुग्ने गरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गरे।
साथै उनले अमेरिकी सरकारबाट नेपालको सामाजिक एवं आर्थिक विकासका निम्ति निरन्तर रुपमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरे। कुराकानीका क्रममा नेपालको विकासका विविध क्षेत्रका प्राथमिकता, अमेरिकी सहयोग र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे पनि विचार विमर्श भएको मन्त्रालयले मङ्गलवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अति संवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक परिचय, विधिको शासन एवं मानवअधिकारप्रतिको प्रतिबद्धतामा जोड दिए।
प्रधानमन्त्री देउवाले राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससमक्ष आफ्नो अभिवादन एवं शुभकामना सम्प्रेषण गर्न विदेश मन्त्री ब्लिङ्केनलाई आग्रह गर्दै बाइडेन प्रशासनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताए।
It was my pleasure to talk to @SecBlinken and exchange views on our multifaceted bilateral relations. We renewed the shared commitment to taking forward the cooperative partership in the interest of our two countries and peoples.
— Sher Bahadur Deuba (@SherBDeuba) July 27, 2021