arrow

‘पोखराको पर्यटन व्यवसाय तङ्ग्रिन पाँच हजार खोप आवश्यक’

logo
हरि पन्त,
प्रकाशित २०७८ साउन १३ बुधबार
pokhara-tourism-businessman.jpg

पोखरा। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रको पुनः उत्थानका लागि पाँच हजार खोप व्यवस्थापन गर्ने बताएका छन्। पोखराका पर्यटन व्यवसायी हरूसँगको भेटमा मन्त्री बरालले यस्तो बताएका हुन्। अर्थमन्त्री बराललाई भेट्न मन्त्रालयमै पुगेका व्यवसायीले पाँच हजार खोप भए पोखराको पर्यटन व्यवसाय तङ्ग्रिने जानकारी गराएका थिए।

सो अवसरमा अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल गर्ने प्रतिबद्धता जनाए। पोखरा पर्यटन परिषद्को नेतृत्वमा अर्थ मन्त्रालय पुगेका अगुवा पर्यटनकर्मी हरूले अर्थमन्त्री बराललाई बधाई दिँदै व्यावसायिक जीवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत दिन आग्रह गरेका थिए।

मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल हुने बताए। उनले भने, “यति वेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौँ। जनताको आवश्यकताको आधारमा हामीले प्राथमिकता दिनेछौँ।”

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई हाल पहिलो चरणमा होटेल तथा रेस्टुरेन्ट सहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोना विरुद्धको खोप आवश्यक भएको बताए।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यावसायिक जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको उनले दाबी गरे।

बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने सम्भावना नभएकोले कर्जा तालिकालाई पुनः तालिकीकरण गर्न पर्यटन व्यवसायीले माग गरेका छन्।

नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८-०७९ मा पर्यटन प्राथमिकता प्राप्त क्षेत्रको रूपमा सम्बोधन गरी हरेक बैङ्कले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको परिषद्का अध्यक्ष भट्टराईले बताए। 

पर्यटन व्यवसायीहरू अग्नी कँडेल, वासु त्रिपाठी, टिकाराम सापकोटा लगायतले यो वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरे। साथै पदमार्ग संरक्षण र पर्यटकीय गन्तव्यहरूको संरक्षणमा ध्यान दिन समेत पर्यटन व्यवसायीको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ