arrow

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी

logo
नारायण अधिकारी,
प्रकाशित २०७८ साउन १३ बुधबार
congress-prithivi-gurung-maoist-serchan.jpg
फाइल तस्बिर

चितवन। फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन्। सरकारले मङ्गलबार उनीहरू दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो। शेरचन लुम्बिनी र गुरुङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुन्। भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरुङको घर पर्दछ। वामपन्थी राजनीतिबाट अघि बढेका शेरचन र काँग्रेसको राजनीतिमा अघि बढेका गुरुङ दुवैले इमानदार नेताको छवि बनाएका छन्। विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार थिए। त्यति बेला शेरचनले जिते भने गुरुङ निकटतम प्रतिद्वन्द्वी भने।

को हुनु शेरचन ?

इमानदार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ शेरचन । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताएका उनी निर्भीक, निडर र इमानदार  मानिन्छन्। विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा जन्मिएका उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा छन्।

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए। तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन बिताएका थिए।

विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरू दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य थिए। सुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो। पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिए।

नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो। शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भए। त्यसको केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई थिए। नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित भए। विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए। विसं २०६३ मा सो पार्टी  विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी)मा समाहित भएको थियो। उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए। यससँगै उनले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरे। शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बनेका थिए।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नं ५ बाट विजयी भए। राज्य विद्रोहको मुद्दा लागेर पटक पटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गरेका शेरचन कम्युनिस्ट नेताहरूमध्येका साहसी नेता भएको उनीसँग निकट रहेर राजनीति गरेका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राससलाई बताए।

शेरचन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य थिए। यसअघि उनी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले उनको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो।

 को हुन् गुरुङ ?

विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे। विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे। उनले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे।

विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त भएका उनी त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा परे। विसं २०३६ को जनमत सङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रिय रूपमा लागेका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गरे।

विसं २०४२ मा चितवन फर्किएका उनी नेपाली काँग्रेस चितवनको सहसचिवमा नियुक्त भए। विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गरे। निर्वाचनमा पराजयपछि विसं २०४९ मा उहाँ सुकुम्वासी आयोगको केन्द्रीय सदस्य भए। त्यति बेला उनी नवलपरासीको इन्चार्ज थिए।

नेपाली काँग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति भने। पार्टी एकता भएपछि सह सभापति बनेका गुरुङ त्यसयता काँग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील छन्। नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमानदार नेता भएको बत्ताउँछन्।

काँग्रेसलाई सशक्त बनाउन उनी आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ। अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीन रूपमा काँग्रेसमा प्रतिबद्ध भएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ