गण्डकीको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी, सात वर्षमा ७१ गर्भवती र सुत्केरी लाभान्वित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
222
Shares
बागलुङ। गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउन सञ्चालन गरेको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ।
ग्रामीण क्षेत्रमा उपचार सम्भव नभई ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी र २८ दिनसम्मका नवजात शिशुलाई सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन यो सेवा सञ्चालन गरिएको हो।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि सञ्चालनमा आएको यस सेवाबाट हालसम्म ७१ जना गर्भवती र सुत्केरीले लाभ लिएका छन्।
मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीका अनुसार सेवा शुरू हुनुअघि पनि चार जनाको उद्धार गरिएको थियो।
तथ्याङ्कअनुसार बागलुङका सबैभन्दा धेरै ३० जना सेवाग्राही छन्। त्यसपछि म्याग्दीका १८, गोरखाका छ, मुस्ताङका पाँच, लमजुङका चार तथा पर्वत र मनाङका दुई/दुई जना महिलाले सेवा लिएका छन्।
वर्षगत रूपमा २०७६ मा १०, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ मा छ जनाले हवाई उद्धार सेवा प्राप्त गरेका छन्।
अधिकारीका अनुसार २०७८ पछि हवाई उद्धारको आवश्यकता घट्दै गएको छ। प्रदेश सरकार र स्थानीय तहले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेपछि जटिल अवस्थाका गर्भवती तथा सुत्केरीको सङ्ख्या कम भएको उनको भनाइ छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि निःशुल्क हवाई उद्धार सेवालाई निरन्तरता दिँदै १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा पनि सोही रकम छुट्याइएको थियो।रासस