arrow

कास्कीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कोरोनाको उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । सरकारले कास्कीसहित २२ जिल्लालाई कोरोनाको उच्च जोखिम र १७ जिल्लालाई अति उच्च जोखिममा राखेको छ ।

उच्च जोखिममा रहेका जिल्लामा कास्कीसहित गण्डकी प्रदेशका मात्रै पाँच जिल्ला छन् । जसमा गण्डकीका कास्की, गोरखा, तनहुँ, नवलपरासी पूर्व र स्याङजा छन् ।

बुधबारको तथ्यांक अनुसार गण्डकीमा सक्रिय संक्रमितको संख्या ३८ सय ३४ जना छन् । उच्च जोखिममा रहेका जिल्ला कास्कीमा १५ सय ५१, स्याङ्जामा ३०२, नवलपरासी पूर्वमा ६९३, गोरखामा ३६४ र तनहूँमा ३१९ जना रहेका छन् ।

यस्तै, मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र बझाङ उच्च जोखिममा परेका छन् ।

यस्तै, अति उच्च जोखिममा रहेका जिल्लामा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यसैबीच लकडाउन खुकुलो पारिएसँगै हेलचक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ ।

खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो । १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा चार हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए ।

‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सहप्रवक्ता डा.अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ