arrow

निर्णायक र सार्थक सहभागिता नभएको महिला जनप्रतिनिधिहरूको गुनासो

'हामीलाई हस्ताक्षर गराएर फड्के किनाराका साक्षी बनाउने काम भयो'

logo
राम धामी,
प्रकाशित २०७८ साउन १४ बिहिबार
Women-dadeldhura-.jpg

डडेल्धुरा। विभिन्न स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले संवैधानिक व्यवस्था अनुरूप स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिएको भए पनि निर्णायक र सार्थक सहभागिता हुन नसक्दा महिला र सीमान्तकृत समुदायका पक्षमा काम गर्न नसकिएको दुखेसो पोखेका छन् । 

दलित महिला सङ्घ डडेलधुराले बिहीबार सदरमुकाममा आयोजना गरेको लैगिंक उत्तरदायी बजेट पद्धति र महिला जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रियामा सहभागी स्थानीय तहका महिला जनप्रतिनिधिहरूले महिलाहरूको सार्थक र निर्णायक सहभागिता बिना लैगिंक उत्तरदायी बजेट कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको जिकिर गरे ।

कार्यक्रमकी प्रमुख अतिथि अमरगढी नगरपालिकाकी उपप्रमुख सङ्गीता भण्डारीले स्थानीय तहमा बजेट तर्जुमा समितिको नेतृत्व उपप्रमुख या उपाध्यक्षले गरिरहेको भए पनि सो हालसम्म सो समितिको बैठक नै नसकेको दाबी गरिन् । उनले स्थानीय तहले ल्याउने बजेट अझै वैधानिक र व्यवहारिक बन्न नसकेको बताइन् । 

महिलाहरूका समस्या र सरोकारका विषयहरू सम्बोधन गर्न नपाइएको गुनासो गर्दै उपप्रमुख भण्डारीले महिलाहरूले हालसम्मका उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्ने बेला आएको बताइन् । बजेट तर्जुमा गर्दा महिला जनप्रतिनिधिहरूलाई कुनै जानकारी नगराई निर्णय रजिस्टरमा हस्ताक्षर गराउने परम्परा बस्न थालेकाले यस किसिमका गतिविधिहरूका कारण महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न पुगेको कार्यक्रमका सहभागीहरू बताउँछन् ।

‘हामीलाई हस्ताक्षर गराएर फड्के किनाराका साक्षी बनाउने काम भएको छ,’ अमरगढी नगर कार्यपालिका सदस्य गिता नेपालीले भनिन्, ‘यस्तो परम्पराले महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न पुगेका छन् ।’ उनले महिला जनप्रतिनिधि पदीय जिम्मेवारीले महत्त्वपूर्ण भूमिकामा भए पनि पुरुष प्रधान समाजले अटेरी गर्ने गरेको अनुभव सुनाइन् । 

स्थानीय तहमा बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन सकिए मात्रै लैगिंक उत्तरदायी बजेट पद्धति व्यवहारिक रूपमा कार्यान्वयनमा आउने जिकिर गर्दै नेपाल महिला सङ्घ डडेलधुराकी अध्यक्ष कमला विष्टले महिलाहरूको सार्थक सहभागिता बिना मुलुकको विकास र समृद्धि असम्भव भएको बताइन । उनले राजनीतिमा सक्रिय महिलाहरूले विभिन्न चुनौतीको सामना खेप्नुपरिरहेको बताउँदै सबै महिलाहरूले एकताबद्ध भएर राजनीतिक आस्थाभन्दा माथि उठेर महिलाहरूको हक हित संरक्षणका लागि काम गर्नुपर्ने औँल्याइन् । 

दलित महिला सङ्घ डडेलधुराकी कार्यक्रम संयोजक सुनिता गैरेद्वारा सञ्चालित कार्यक्रममा स्थानीय तहका महिला जनप्रतिनिधिहरुका साथै डडेल्धुरा जिल्लामा क्रियाशील महिला राजनीतिकर्मीहरूको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ