arrow

जसपाले शनिबार संसदीय दलको नेता छान्ने, आइतबार मन्त्रीहरुको नाम टुङ्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने र आइतबार मन्त्रीहरुको नामावली टुंगो लगाउने गरी आन्तरिक तयारी थालेको छ ।

विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

त्यस्तै बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार मंसिरसम्म संगठन सुदृढीकरण र जनजागरण अभियानका लागि अस्थाइ कार्यविभाजन पनि गरिएको छ ।

जस अन्तर्गत केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिइएको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा अनुशासनसम्बन्धी छानबिनका लागि समिति बनाइएको छ । समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् ।

डा. भट्टराईले तीन दिनसम्म चलेको अत्यन्त जीवन्त र महत्वपूर्ण बैठकले दूरगामी महत्वका निर्णय गरेको र  देशलाई समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवादी विकल्प प्रदान गर्ने संकल्प गरेको बताएका छन् । 

विहीबारको बैठकमा मन्त्रीहरुको नाममा सामान्य मात्र छलफल भएको छ । संसदीय दलको नेता चयनपछि मन्त्रीहरुको नामावलीबारे छलफल गरिने भएको छ । मंगलबारबाट जारी बैठकमा संगठन विस्तार, कार्यकारिणी समितिको पूर्णता तथा समायोजन लगायतको विषयमा मात्र छलफल भइरहेको थियो ।

तर बुधबारको बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईलाई दिइसकेको छ । जसपाले कम्तीमा ६ वटा मन्त्रालय पाउनु पर्ने अडान राख्दै आएको छ । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसद छन् । जसमध्ये २२ जना उपेन्द्र पक्षका छन् । दुई जना निलम्बित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ