- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। धनुषामा एक ६ वर्षीया बालिकाको रहस्यमयी हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझिया बस्ने वीरेन्द्र कुमार यादवकी ६ वर्षीया छोरी प्रीति कुमारी यादवको रहस्यमयी हत्या भएको हो ।
११ गते सोमवारदेखि हराई रहेकी प्रीतिको शव शुक्रवार बिहान घर नजिकै रहेको इनारको पानीमा तैरिरहेको अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार सोमबार बिहान ११ बजेको समयमा बालिकाकी आमाले छोरी प्रीतिलाई दैलोमा बिस्कुट दिएर आँगनमा गएको र आँगनबाट फेरी आउँदा प्रीतिलाई नदेखेपछि खोजविन सुरु गरिएको थियो ।
खोजीकै क्रममा बेपत्ता भएकी प्रीतिको शव ४ दिन पश्चात् हत्या गरी इनारमा फालिएको अवस्थामा फेला परेको हो । प्रहरी स्रोतका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालिकाको हत्या गरी इनारमा फालिएको जस्तो देखिन्छ । यता बालिकाको शव पोस्टमार्टमका प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।
पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता तथा रहस्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
यसैबिच बालिकाको हत्यामा स्थानीय कै संलग्नता हुन सक्ने परिवारजनको आशङ्का रहेको छ । प्रहरीले बालिकाको शव इनारबाट निकाल्न लाग्दा स्थानीयहरुले हत्या घटनाको कडाईका साथ अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रहरीले हत्याबारे छिटो अनुसन्धान गर्ने र दोषी जो कोही भएपनि कारबाहीको दायरामा ल्याउने जनाएपछि प्रदर्शन रोकिएको थियो । मृतक बालिकाको बुबा वीरेन्द्र कुमार यादव रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।