arrow

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
corona-variant.jpg

चितवन। भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्टाइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्टाएको छ । तीमध्ये अहिले १०४ शय्या सङ्क्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रवार अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ सङ्क्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए । पच्चीस एचडीयूमा तथा २१ जना सघन उपचार कक्षमा उपचाररत छन् ।  अस्पतालमा २५ शय्या क्षमताको सघन उपचार कक्ष छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताए । उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, “अस्पतालमा कोभिडका लागि छुट्टाइएको शय्या भरिएको छ । अरु सङ्क्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।”

अस्पतालमा रहेका शय्या सङ्क्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल सुरु भएको उनको भनाइ छ । सङ्क्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरूले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए । उनले भने, “महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्‍यो ।” सङ्क्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए । 

अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचार कक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचार कक्षमा उपचाररत छन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेसनमा, आठ सार्वजनिक आइसोलेसनमा र १२२ जना अस्पतालमा उपचाररत छन् ।



नयाँ