- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरि नै कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । खास गरी निषेधाज्ञा लगभग पूर्ण रूपमा खुकुलो भएसँगै सङ्क्रमणले फेरि गति लिएको हो ।
हिजो अर्थात् शनिवार सङ्क्रमण दर २२ प्रतिशत देखिएको थियो । १३ हजार ५ सय १९ नमुना परीक्षण गर्दा हिजो ३ हजार १ सय ६ जानमा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण बढिरहेको मात्रै नभई सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दो छ । गत साता करिब २७ हजार रहेको सक्रिय संक्रमित सङ्ख्या ३१ हजार नाघेको छ ।
यसबिच काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोना भाइरसबाट संक्रमित भई भर्ना हुनेको सङ्ख्या बढ्न थालेको छ ।
शुक्र राज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सङ्क्रमितहरू भरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए । दैनिक भर्ना हुन आउनेको सङ्ख्या समेत बढेको डा. बास्तोलाले बताए ।
यस्तै पाटन अस्पतालमा पनि सङ्क्रमित भएर भर्ना हुनेको सङ्ख्या बढेको छ ।
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि १६० भन्दा बढी संक्रमित भर्ना भइसकेका छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. प्रवीण नेपालले अस्पतालको क्षमता थप गरेर आजैबाट २०० बिरामीसम्म भर्ना गर्ने तयारी गरिरहेको बताएका छन् ।
अस्पतालमा दैनिक १० देखि १५ जना भर्ना हुन आइरहेको डा. नेपालले बताए ।
यस्तै त्रिभुवन शिक्षण (टिचिङ) अस्पताल महारागञ्जमा समेत १३६ संक्रमित भर्ना भइसकेका छन् । टिचिङ अस्पतालका डा. सन्तकुमार दासले दैनिक ४० जनासम्म भर्ना हुन आइरहेको बताएका छन् । तीमध्ये २५ देखि २७ जनालाई भर्ना गरिरहेको उनले बताए ।
उपत्यकाका मुख्य अस्पतालहरूमा संक्रमित भएर भर्ना हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमणले फेरि ठुलो रूपले स्वास्थ्यकर्मीहरू आशङ्का छ ।
टेकु अस्पतालका निर्देशक डा. बास्तोलाले एक दुई हप्तामा नै सङ्क्रमण निकै नै बढ्न सक्ने र योसँगै तेस्रो लहर सुरु हुनसक्ने चेतावनी समेत दिएका छन् ।