arrow

कानुनविद् र स्वतन्त्र व्यक्तिहरूलाई सरकारमा पठाइदिन नेपालसँग गरे प्रचण्डले आग्रह

ओली र नेपालको संवादको तयारी अघि प्रचण्डको भेटले एमाले वृत्त सशङ्कित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
nepal-prachanda1.jpg
फाइल तस्बिर

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच संवादको तयारी भएका बेला मङ्गलवार बिहानै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । बिहान सात बजे नै नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । बिहान ८ बजेदेखि विद्यार्थी नेताहरूसँग भेटघाट राखेका प्रचण्डले नेपालसँग करिब ४५ मिनेट कुराकानी गरेका थिए । 

प्रचण्डले गठबन्धनको सरकारलाई कसरी टिकाउने भन्नेबारेमा छलफल गरेको स्रोतको दाबी छ । सरकारले विश्वासको मत लिए पनि सरकारका तर्फबाट गर्नुपर्ने धेरै कामहरू बाकी रहेकाले नेपाललाई सहयोग गर्ने तर पार्टीभित्र आबद्ध नभएका केही कानुनविद् र स्वतन्त्र व्यक्तिलाई सरकारमा पठाइदिन नेपालसँग आग्रह गरेको थिए । 

गठबन्धनभित्र शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार गर्न ढिला भइरहेको अवस्थामा प्रचण्डले नेपालसँग त्यस्तो आग्रह गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले शपथ लिएको २२ दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । हाल ६ सदस्यीय मन्त्रिपरिषद् छ । 

सोमबार साँझ प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले पहिले साझा न्यूनतम कार्यक्रम ल्याउने र त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेका थिए । 

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच वार्ता गराउन खोजेका बेला प्रचण्ड नेपाललाई भेट्न जानुलाई कार्यदलका नेताहरूले सकारात्मक मानेका छैनन् । 

नेपालले गठबन्धन तोड्ने र पार्टीभित्रै आन्तरिक सङ्घर्ष गर्ने तयारी गरिरहेका छन् । आफ्नै समूहको दबाबमा रहेका नेता नेपालले एक साता भन्दा बढी आफ्ना समर्थक र शुभेच्छुकसँग परामर्श गरेका थिए । अहिले भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको छ । उनीहरु आज चार जना वार्ताको वातावरण बनाउन छलफलमा जुटेका छन् ।

चार नेताबिचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबिच भेट गराउने तयारी भइरहेको नेपाल पक्षका नेता रावलले बताएका छन् । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न तीन दिन यता सहमत भएका छन् । 

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूले सोमवारको बैठकमा वरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरूको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् । 

एमालेको न एकता, न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुनेमा दुवै पक्ष सहमत रहेका छन् । नेता नेपालले पनि सोमबार आफ्ना समूहको छलफलमा सम्मानजनक एकताको पक्षमा रहेको बताएका थिए । ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ,’ नेता नेपालले भनेका थिए । 

ओली पक्षले दोस्रो अध्यक्ष प्रस्ताव गरेको भए पनि अस्वीकार गरेका नेपालले पावर शेयरिङमा भने जोड दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ