सरकारलाई संयोजक प्रचण्डको चेतावनी– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
448
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले संसदीय प्रक्रियाको उपहास गर्दै स्वेच्छाचारी ढङ्गले शासन चलाउन खोजेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको दाबी गरे।
दाहालले सरकारले आफैँले बोलाएको संसद् अधिवेशन स्थगित गरेर जनप्रतिनिधिहरूलाई छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा कडा आपत्ति जनाए। "संख्याको दम्भमा विधि मिच्ने काम नहोस्," उनले भने, "जनताले दिएको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लगाउनुस्, संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन।"
सरकारको आलोचना गर्नेहरूमाथि प्रतिशोध साँधिएको भन्दै उनले नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाए। सरकारले पत्रकार, युट्युबर र सर्वसाधारणलाई विचार अभिव्यक्त गरेकै आधारमा पक्राउ गरेकोमा उनले रोष प्रकट गरे। "आलोचना गरेकै आधारमा धरपकड र गिरफ्तारी सुरु गरिएको छ," दाहालले थपे, "हिजो पुराना दल सबै खत्तम हुन् भन्ने भाष्य निर्माण गर्नेहरू आज आफैँ स्वेच्छाचारिता र प्रतिशोधको बाटोमा लागेका छन्।"
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणका सम्बन्धमा जनस्तरबाट उठेका प्रश्नहरूको पारदर्शी जवाफ दिनुको सट्टा सरकारले त्यसलाई ढाकछोप गर्न खोजेको उनको आरोप छ। उनले सरकारलाई आफ्नो आचरण सुधार्न र लोकतान्त्रिक प्रणालीको सम्मान गर्न सचेत गराए।
सम्बोधनका क्रममा दाहालले सरकारका गतिविधिले लोकतान्त्रिक पद्धतिमै आघात पुर्याएको भन्दै संसद्को गरिमा जोगाउन सबै सांसदहरू सजग हुनुपर्नेमा जोड दिए।