arrow

उपत्यकामा निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
ktm-vacle.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि २७ गतेसम्म निषेधाज्ञा थपिएको छ । साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा  तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने प्रत्यक्ष सहभागी भएर गरिने कार्यक्रममा रोक लगाइएको छ ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड-१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्र्कष छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित मंगलवारको बैठकले उक्त आदेश जारी गरेको हो । 

आदेशमा कोभिड-१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड-१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ । 

जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकूद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न-गराउन नपाइने विगतको व्यवस्थालाई कायम राखिएको छ ।
 
यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा-जुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर आदि गर्न-गराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका पनि गर्न नपाइने आदेशमा उल्लेख छ । औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।  

अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक-अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ