arrow

कोरोना तेस्रो लहरको तयारी गर्दै सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
corona-variant.jpg

भक्तपुर । कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक-८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । 

नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गरेका छन् । उनले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिए । 

नगर प्रमुख थापाले भने, “नगरपालिकाको रु पाँच करोडको लागतमा अस्पतालको भवन निर्माण भएर सञ्चालनको तयारीमा जुटेका छौँ, अस्पताल जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक मेशिनहरुको बोलपत्र आह्वान भएको छ, मेशिनहरु आएर जडान भएर अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन सुरु लगत्तै अस्पतालको सेवा सञ्चालनमा ल्याउँछौँ ।”

आगामी असोज १ गते अस्पताल उद्घाटन गरेर सेवा सञ्चालन गरी सेवा पुनः सञ्चालन गर्ने तयारी भएको उनले बताए । अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शय्या सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० शय्या पु¥याउने गरी तयारी गरिएको नगर प्रमुख थापाले बताए । उनले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको र आफ्नो इच्छा साकार भएको बताए । 

सूर्यविनायक-७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पतालमा सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको बताए । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद बस्नेतको पहलमा सरकारले रु ७५ लाख बजेटको व्यवस्था गरेको जानकारी दिँदै सापकोटाले यस अस्पताललाई आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि सांसद बस्नेतले रु एक करोड ५० लाख बजेटको व्यवस्था गरेको बताए । 

अस्पतालको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवीन प्रजापतिले भवन निर्माणलगायतको भौतिक निर्माण सम्पन्न भएको बताउँदै थप भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिए । नगरपालिकाले अहिले पनि वडा नं ५ दधिकोटमा १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । जगातीमा अस्पताल सञ्चालनमा आएपछि दधिकोटको अस्पताललाई पनि यहीँ विलय गरेर दधिकोटमा स्वास्थ्य चौकी कायम गरिने भएको छ ।



नयाँ