- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्न पत्र प्रहरी प्रधान कार्यालय भित्रबाटै ‘आउट’ भएको विषयमा अनुसन्धान अघि बढेको छ ।
प्रश्न पत्र कसरी र कसको संलग्नतामा ‘आउट’ भयो भन्ने विषयमा प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयका डीआइजी वसन्त लामाको संयोजकत्वमा ६ सदस्सीय छानबिन समिति नै बनाएर छानबिन गर्दै आएको हो । प्रहरी महानिरीक्षक शैलेश थापाले गत मंगलबार छानबिन समिति बनाएका थिए ।
गत १५ र १६ साउनमा प्रधान कार्यालयसहित सातै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीहरुका लागि परिक्षा संचालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुने तयारी थियो । १५ गतेको परीक्षा भने सकिएको थियो ।
तर १६ गतेको परीक्षा शुरु हुनु अघिल्लो दिन नै प्रश्न पत्र बाहिरिएको सूचनापछि यूएन शाखाले नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा संचालन गरेको थियो । सो विषयमा सूचना बाहिर आएपछि भने प्रधान कार्यालयले छानबिन थालेको हो ।
१५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको बताइन्छ । १६ गतेको परीक्षाको प्रश्न अघिल्लो दिन नै लिक भएको बताइए पनि १५ गतेको परीक्षाको प्रश्न पत्र आउट भए नभएको खुलेको छैन ।
तर, प्रधान कार्यालयको यूएन शाखामा कार्यरत प्रहरीबाट नै प्रश्नपत्र आउट भएको भने प्रारम्भिक चरणको अनुसन्धानका क्रममा खुलेको छ ।
‘१५ गतेको परीक्षाको प्रश्न पत्र आउट भए नभएको खुलेको छैन ,तर १६ गतेको परीक्षाको प्रश्नपत्र भने यूएन शाखामा कार्यरत प्रहरीबाट नै बहिरिएको देखिन्छ, गम्भीर छानबिन हुँदैछ,’ छानबिन समितिका एक सदस्यले भने ।
सो आशंकामा युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरि आन्तरिक थुनामा राखिएको छ । हवल्दार शाहको भाइबरमा प्रश्न पत्र भेटिएको छानबिन समितिका ती सदस्यले बताए ।
प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका अन्य प्रहरी अधिकारीहरुमाथि पनि निगरानी र सोधपुछ बढाएको छ ।
छानबिन समितिले यूएन शाखा कै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नतामाथि पनि शंका गरिरहेको छ । डीएसपी खड्का पनि परिक्षार्थी थिए । उनी केही समयअघिसम्म युएन शाखामा नै कार्यरतसमेत रहेको प्रधान कार्यालय बताउँछ ।
प्रधान कार्यालयका अनुसार प्रश्नपत्र भने युएनशाखा प्रमुख एसपी अनुपम राणाको जिम्मेवारीमा थियो । सो विषयमा उनीसँगसमेत सोधपुछ गरिएको छ ।
अनुसन्धानको दायरामा लिइएका प्रहरीलाई भने नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर-१ मा आन्तरिक थुनामा राखिएको छ । प्रश्न पत्र आउट भएपछि डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।
घटनाको अनुसन्धान गर्न बनाइएको छानबिन समितिका संयोजक डीआइजी लामाले अनुसन्धान जारी रहेको र छिटै निश्कर्षमा पुग्ने जानकारी दिए । ‘कसरी प्रश्नपत्र आउट भयो, वास्तविकता के हो रु, को-को संलग्न थिए भनेर अनुसन्धान हुँदै छ, केहीलाई निगरानीमा पनि राखेका छौं, छिटै सत्यतथ्य ल्याउँछौं,’ छानबिन समितिका संयोजक डीआइजी लामाले हाम्राकुरासँग भने ।