काठमाडौँ ।एमाले नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेर एकता नहुने बताएकी छन् । काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी माधवकुमार नेपाल पक्षीय बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् ।
नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।
नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बिहीबार देखी काठमाडौँमा सुरु भएको छ । बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ ।
पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार बैठकको सुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए ।
नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सबल कसरी बनाउने भन्ने विषमय नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिस्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाबिला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए ।
उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्त्वपूर्ण सर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।