- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। झापामा सङ्क्रमणको दरसँगै मृत्युको सङ्ख्यामा समेत कमी आउन सकेको छैन । झापामा जिल्ला प्रशासनले सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका बाबजुद पनि कोरोना भाइरस सङ्क्रमण तथा मृत्युदरमा कमी आउन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयले झापासहितका केही जिल्लाहरूमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरिसकेको छ ।
सोही अनुरूप प्रशासनले सङ्क्रमण नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी रहँदासमेत झापामा सङ्क्रमण दर र मृत्युको सङ्ख्यामा कमी आउन सकेको छैन ।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लामा सरदर दैनिक ३ जना भन्दा धेरैको मृत्यु भएको देखाउँछ । मृत्यु हुनेमा अधिकांश ३० बर्सभन्दा माथि उमेर समूहका मानिसहरू रहेका छन् ।
झापा जिल्लाको कोरोना सङ्क्रमणको दरलाई हेर्दा तेस्रो लहर झनै भयावह हुनसक्ने भन्दै सजग रहन स्थानीय तथा सम्बन्धित सबैले चासो राख्दै आएका छन् ।
झापामा हिजो बिहीबार ४१८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म एकै दिन कोरोना सङ्क्रमित भएको यो नै सबैभन्दा धेरै सङ्ख्या हो ।
जिल्लाका १५ वटै पालिकामा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । बिहीबार सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १२२ जना, दमकमा ६५ जना, कन्काइमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१ र शिवसताक्षीमा २६ जना सङ्क्रमित थपिएका छन् ।
त्यसैगरी भद्रपुरमा २२ जना, बुद्धशान्तिमा १२ जना, कमल गाउँपालिकामा १२, गौरादहमा ९ , हल्दिबारीमा ५, बाह्रदशीमा ४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १ जना तथा ४ जना स्थानीय तह नखुलेका समेत गरी बिहीबार मात्रै झापामा ४१८ जना नयाँ सङ्क्रमित थपिएका हुन ।