- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा भारतमा विज्ञ र सरकारबीच सवाल जवाफ भइरहेको छ । भारतमा विज्ञहरुले तेस्रो लहर आउनै लागेको बताएका छन् । तर सरकारले भने अझै दोस्रो लहर नै नसकिएको बताएको छ ।
विज्ञहरुले तेस्रो लहर शुरु हुनासाथ संक्रमितको संख्यामा वृद्धि हुँदै जाने बताएका छन् । केन्द्र सरकार भने अझै दोस्रो लहर कायमै रहेको बताउँछ । राज्यहरुमा भने संक्रमितको गति बढ्दो छ ।
केन्द्र सरकारका अनुसार हिमाचल प्रदेश, जम्मू–कश्मीर, तमिलनाडु र केरलसमेत ८ राज्यमा कोरोनाको रिप्रोडक्टिभ नम्बर (आर नम्बर वा आर भ्यालु) एक भन्दा बढी भएको छ ।
रिप्रोडक्टिभ नम्बरबाट संक्रमण फैलने रफ्तार पत्ता लाग्छ । आर भ्यालुअनुसार कोरोना एक संक्रमितबाट एक भन्दा बढी मानिसमा फैलिएको स्पष्ट भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ राज्य र केन्द्र शासित प्रदेशका २४ जिल्लामा गत हप्ता १० प्रतिशत भन्दा बढी पोजेटिभिटी रेट भेटिएको छ । केरल, महाराष्ट्र, मणिपुरसहित ६ राज्यका १८ जिल्लामा विगत एक महिनादेखि कोरोना बढिरहेको छ । यी जिल्लाहरुमा ४७.५ प्रतिशत केस भेटिएको छ । यसबाट दोस्रो लहर नसकिएको प्रमाणित हुन्छ ।
विज्ञहरुले आर नम्बरका आधारमा तेस्रो लहरको दाबी गरेका छन् । गत सोमबार प्रकाशित एक अनुसन्धानमा विज्ञहरुल आर नम्बरको आधारमा देश तेस्रो लहरको चपेटामा आउन लागेको दाबी गरेका हुन् ।
इन्स्टिच्युट अफ म्याथमेटिकल साइन्स चेन्नईका प्राध्यापक सिताभ्र सिन्हाका अनुसार भारतमा कोरोनाको रिप्रोडक्सन भ्यालु १ मा पुगिसकेको छ ।
गत मे ७ तारिखमा ४ लाख भन्दा बढी संक्रमित भेटिएका थिए । त्यतिबेला पनि रिप्रोडक्सन भ्यालु १ रहेको थियो । यसपटक फेरि पनि सोही भ्यालु रहेकाले तेस्रो लहरमा भारत आउन लागेको सिन्हाको भनाइ छ ।
भारतमा बिहीबार ४५ हजार १ जना संक्रमित थपिएका छन् । पछिल्लो २९ दिनमा सबैभन्दा बढी संक्रमित बिहीबार थपिएका हुन् । ४० हजार ८९७ संक्रमितलाई निको भएको छ । ४६५ जनाको ज्यान गएको छ ।
हाल भारतमा सक्रिय संक्रमित ४ लाख ८ हजार २७१ रहेका छन् । केरलमा सबैभन्दा बढी १ लाख ७७ हजार ९२३ जना सक्रिय संक्रमित छन् ।