arrow

झनै विकराल बन्दै कोरोना सङ्क्रमण : १० हजार भन्दा बढीको मृत्यु, सक्रिय सङ्क्रमित करिब ३५ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। हाल देशभर कोरोना भाइरसको सङ्क्रमण झनै विकराल भन्दै गएको छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या झन्डै ४ हजारको हाराहारीमा छ । निको हुनेको सङ्ख्या भने २ हजार भन्दा मुनि छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या समेत करिब ३५ हजार पुगेको छ ।

योसँगै दोस्रो लहर नसकिँदै यसैसँग तेस्रो लहर आउने चेतावनी विज्ञहरूले दिएका छन् । टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले दोस्रो लहर नटुङ्गिँदै तेस्रो लहर सुरु भएको सङ्केत देखिएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

नेपालमा दोस्रो लहरपछि सङ्क्रमण दर औषतमा २० प्रतिशत भन्दा मुनि झरेको छैन । जुनकी सङ्क्रमण कम भएको मानिन ५ प्रतिशत भन्दा मुनि झर्नु पर्ने डा. शेरबहादुर पुनको भनाइ छ ।

यसबीच स्वास्थ्य मन्त्रालयले समेत तेस्रो लहरका लागि तयारी अवस्थामा रहन स्वास्थ्य अस्पताल एवं स्वास्थ्य केन्द्रहरूलाई निर्देशन दिँदै आएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ७ सय २९ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख १०  हजार ५ सय ९ जनामा र एन्टिजेन विधिबाट ६७ हजार ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख  ६५ हजार ५ सय ४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १ हजार १९  पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ९ सय ८२ रहेको छ ।

हाल ७ सय ३२ जनाको आईसीयु र १ सय ५८ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

हालसम्म ४४ लाख ३ हजार २१ जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २२ लाख ८ हजार ५५ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।



नयाँ