arrow

खोप व्यवस्थापन: खोप केन्द्र थपियो, कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
Covid-vaccine-corona.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  

उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी  १४९ पुर्‍याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । 

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा

कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेकाले उत्पादन गरेको खोप शुक्रवार देखि नै विभिन्न जिल्लाहरूमा पठाउन सुरु गरिएको छ । शुक्रवार भुटान सरकारले नेपाललाई दिएको करिब ३ लाख डोज खोप काठमाडौँ आइपुगिसकेको छ ।

यो खोप आज (शुक्रवार)देखि नै विभिन्न जिल्लामा पठाउन थालिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

यस्तै जापान सरकारले अनुदान स्वरूप दिने १६ लाख एस्ट्राजेनेका खोपमध्ये शनिवार पहिलो लट खोप काठमाडौँ आइपुग्दै छ । थप खोप पर्सी अर्थात् आइतबार काठमाडौँ आइपुग्ने छ ।

भोलि आइपुग्ने खोप भोलि र पर्सी आइपुग्ने खोप पर्सी नै जिल्ला जिल्लामा पठाइने डा. गौतमले बताएका छन् । यसअघि एस्ट्राजेनेकाकै भारतमा उत्पादित खोपको पहिलो डोज लगाएकाहरूलाई यो खोप दोस्रो डोज लगाइने भएको छ ।

भारतबाट ल्याइएको एस्ट्राजेनेकाको पहिलो डोज लगाएका झन्डै १४ लाख भन्दा बढी नागरिकले दोस्रो डोज लगाउन ढिला भइसकेको अवस्थामा जापानबाट आइरहेको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाउन थालिने उनले बताए ।

कसरी ताेकिन्छ खाेप केन्द्र ?

हाल देशभर भेरोसेल र जे एन्ड जेको खोप सञ्चालनमा आइरहेको छ । यस्तो अवस्थामा एस्ट्राजेनेका खोप कसरी लगाइउने भन्ने व्यवस्थापनको पाटो पनि चासोको विषय बनेको छ ।

यस विषयमा डा. गौतमले भेरोसेलको खोप अभियान रोकेर एस्ट्राजेनेका लगाइने बताएका छन् । 'कसरी र खोप केन्द्र कहाँ-कहाँ तोक्ने भन्ने निर्णय जिल्लाले नै गर्छ, दुवै खोप नबाझिने किसिमले लगाउन हामीले निर्देशन दिन्छौँ', उनले भने ।

डा. गौतमका अनुसार एस्ट्राजेनेकाको दोस्रो डोज लगाउनका लागि खोप केन्द्र जिल्लाले नै तोक्ने छ । यद्यपि, भेरोसेल खोप र एस्ट्राजेनेका एउटै दिन लगाउने गरी मिति भने तोकिने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ