arrow

टेलिकमको सीयूजी सेवामा अफरै अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
nepal-telecom-building.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल टेलिकमले जारी गरेको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा अफर थप गरेको छ। टेलिकमले सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेको जनाउँदै अफर पनि थपिएको जनाएको छ।

सीयूजीको सेवाबारे टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कुनै संस्था–कार्यालयमा कार्यरत न्यूनतम दश जना मोबाइल प्रयोगकर्ताहरूलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ। सीयूजी सेवामा आबद्ध सदस्यहरूबिच निःशुल्क रूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ।’

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरूको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरू उपलब्ध रहेको टेलिकमले जनाएको छ। कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीवी डाटा सुविधा प्राप्त गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।

त्यसै गरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीवी डाटा सुविधा प्राप्त गर्न सक्ने पनि टेलिकमले जानकारी दिएको छ।

टेलिकमले भनेको छ, ‘यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन्। रु. १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ।

साथै यस प्याकेजमा १० जीवी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ। यसै गरी रु. १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ। यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीवी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ।’

टेलिकमले अगाडि भनेको छ, ‘कुनै संस्था–कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ। न्यूनतम १० जना प्रिपेड–पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ।’

यो सेवाबारे बुझ्नका लागि टेलिकमले सम्पर्क नम्बरसाथै वेबसाइट पनि उपलब्ध गराएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीयूजी सेवाका बारेमा थप जानकारी लिनका लागि ०१–४२१०२४१ र ०१–४२१०२९१ मा सम्पर्क गर्न सकिन्छ। यसै गरी कम्पनीको वेबसाइटमा रहेको लिङ्कबाट पनि यस सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ