arrow

एनआरएनए यूकेको शपथमा उठ्यो आवाज: आइसीसीमा अब बेलायतले नेतृत्व लिनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
NRNA-UK-final.jpg

लन्डन (जीएनएन) । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले शपथ लिएको छ ।

आइतबार साँझ अल्डरसटमा आयोजित विशेष समारोहमा निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलले नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरसहित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । सोही अवसरमा राज्य समन्वय परिषदका नवनिर्वाचित कार्य समितिलाई पनि सपथ गराइएको थियो ।

अगष्ट २ र ३ मा सम्पन्न निर्वाचनको मतपरिणाम गत शनिबार बिहान घोषणा गरिएको थियो । एनसीसी यूकेको निर्वाचनबाट अध्यक्षसहित सबै पदमा प्रेम गाहा मगर नेतृत्वको प्यानल विजयी भएको छ । अध्यक्षसहित अधिकांश पदहरुमा त्रिपक्षीय प्रतिपस्पर्धा भएपनि गाहा मगर नेतृत्वको प्यानल अत्यधिक बहुमतसहित निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई शपथ गराउँदै निर्वाचन समिति संयोजक कँडेलले बेलायती नेपाली समाजलाई  एकताबद्ध बनाउन आग्रह गरे । एनआरएनएको गरिमा बढाउँदै समाजलाई थप एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । निर्वाचन समिति संयोजक कँडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतवासी नेपालीहरुको समस्या समाधानमा मिलेर अगाडि बढ्न आग्रह गरे । ‘म तपाईंहरुको साथमा हुने छु’, नवनिर्वाचित समितिलाई बधाइ दिँदै उनले भने, ‘हामी सबै मिलेर समस्या समाधान गर्न सक्ने छौं ।’

राजदूत रेग्मीले गोर्खा समस्या समाधानका लागि नेपाल सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसैगरी गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार कुल आचार्यले बेलायतको निर्वाचनले संसारभर नै सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

लामो समयदेखि काम गरेका युवा साथीहरु आउनु भएको छ, उनले भने, उहाँहरुले पक्कै पनि समाजलाई एकताबद्ध बनाई अगाडि बढ्नु हुने छ । संघको आइसीसी अध्यक्षको उम्मेदवारका रुपमा चर्चा गरिएका आचार्यले अब बेलायतले एनआरएनएलाई पनि नेतृत्व दिनुपर्ने बताए  ।

त्यस्तै, संघका अर्का सल्लाहकार एवम् एनसीसी यूकेको निर्वाचनका लागि केन्द्रिय पर्यवेक्षक विश्व आदर्श पण्डितले विगतका तिता अनुभवलाई बिर्सेर अगाडि बढ्नुपर्ने बताए । अनेकन आशंकाका बीच सर्वस्वीकार्य नतिजा सार्वजनिक भएको छ, उनले भने ।

शपथ समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले निर्वाचनको परिणामसँगै आफ्नो जिम्मेवारी र दायित्व पनि बढेको बताए । ‘पक्कै पनि मेरो जिम्मेवारी र दायित्व बढेको छ, त्यसैलाई आत्मसात गर्दै काम गर्नेछु’ उनले भने ।

नवनिर्वाचित अध्यक्ष गाहा मगरले आफूले यसअघि नै सात बुँदे प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सोही अनुसार काम गर्ने स्पष्ट पारे । उनले आफूसँगै अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी  रोजिना प्रधान राई र दीपक श्रेष्ठको समेत साथ लिएर उनीहरुले अगाडि सारेका प्रतिबद्धता कार्यान्वयन गर्ने दायित्व पनि आफूमा सरेको बताए ।

प्रमुख अतिथि भन्दा आयोजक ढिला

एनआरएन यूकेको २०२१-२३ कार्यकालका लागि शपथ ग्रहण समारोहको आयोजना गरेको थियो निर्वाचन समितिले । निर्वाचन समितिलाई सहयोग गरेको थियो, निवर्तमान कार्य समितिले । कार्यक्रमका प्रमुख अतिथि थिए, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी ।

शपथ समारोह साँझ ६ः३०  बजेका लागि तय गरिएको थियो । सबै अतिथिहरु तथा सहभागीहरुलाई सोही अनुसार बोलाइएको थियो ।

तोकिएको समयमा नै प्रमुख अतिथिसहित अन्य सबै जना कार्यक्रमस्थल अल्डरसटस्थित एम्पयर हलमा उपस्थित भइसकेका थिए । तर, निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेल र निवर्तमान हुँदै गरेकी अध्यक्ष पूनम गुरुङ भने कार्यक्रमस्थलमा देखिएनन् ।

उनीहरुको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । निर्वाचन परिणामप्रति उनीहरु दुवै जना असन्तुष्ट थिए । निर्वाचन प्रक्रियादेखि निर्वाचन परिणाम घोषणा सम्मको अवस्थामा उनीहरुको अभिव्यक्ति र व्यवहार त्यस्तै थियो ।

झण्डै दुई घण्टा ढिलो गरी कँडेल र गुरुङ कार्यक्रम स्थलमा आए । उनीहरु आएपछि मात्रै कार्यक्रम शुरु गरियो । कार्यक्रमस्थलको व्यवस्थापन पनि फितलो थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नेदेखि सम्बोधन गर्ने सम्मको प्रक्रिया अत्यन्त अस्तव्यस्त थियो ।

प्रमुख अतिथि रेग्मीले मन्चबाट नभई नवनिर्वाचित कार्य समिति क्रमबद्ध रुपमा उभिएको स्थानमा पुगी माइकबाट बधाइ दिएका थिए । उनलाई उपलब्ध गराइएको माइकबाट आवाज पनि राम्रोसँग प्रसारण भइरहेको थिएन ।

अध्यक्ष पदकी उपविजेता रोजिना प्रधान राईले भने निकै परिपक्क व्यवहार प्रदर्शन गरिन्।  उनले नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर र उनको टिम लाई बधाई दिंदै आफ्नो पूर्ण सहयोग रहने बताइन्।  उनले  प्रेम गाहा मगरलाई निलो रंगको खादा लगाइ दिए पछि प्रेम गाहाले पनि उनलाई खादा लगाएर सम्मान गरेका थिए।  अध्यक्ष पदका अर्का उपविजेता, दीपक श्रेष्ठले नयाँ टिमलाई बधाई दिंदै एउटा लिखित संदेश पठाएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतवासी नेपालीहरुको समस्या समाधानमा मिलेर अगाडि बढ्न आग्रह गरे । ‘म तपाईंहरुको साथमा हुने छु’, नवनिर्वाचित समितिलाई बधाइ दिँदै उनले भने, ‘हामी सबै मिलेर समस्या समाधान गर्न सक्ने छौं ।’ राजदूत रेग्मीले गोर्खा समस्या समाधानका लागि नेपाल सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यसैगरी गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार कुल आचार्यले बेलायतको निर्वाचनले संसारभर नै सकारात्मक सन्देश प्रवाह गरेको बताए । संघको आइसीसी अध्यक्षको उम्मेदवारका रुपमा चर्चा गरिएका आचार्यले अब बेलायतले एनआरएनएलाई पनि नेतृत्व दिनु पर्ने बताए  ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार, विश्व आदर्श पण्डित, संस्थापक सचिव चिरन्जीवी ढकाल, पूर्व अध्यक्ष योगेन छेत्री, पूर्व महासचिव डा कृष्ण उपाध्याय, नानिर्वाचित आइसीसी सदस्य राजेन्द्र पुडासैनी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बधाई तथा शुभकामना दिएका थिए। 

 फोटोः शिब भण्डारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ