- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर। धनुषामा आपसी विवादका कारण एक जनाको ज्यान गएको छ । आपसी विवादमा झैँ झगडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजार नयाँ टोलका ३५ वर्षीय ओम मल्लिक डोम (चेंग्वा डोम) को ज्यान गएको हो ।
ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गए राति मृत्यु भएको पारिवारिकले जानकारी दिएको छ । श्रावण १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेका थिए ।
झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेका थिए भने राकेशकी दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउकोमा चिर्पट प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शी बताएका छन्। स्रोतका अनुसार खुकुरीले पेट काटिएर र टाउकोमा चिर्पटले चोट लागेपछि गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रेफर गरिएको थियो ।
जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रँदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा गए राति ओमको मृत्यु भएको स्थानीयवासीले बताए।
ओमकी एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । मृतक ओमको श्रीमती मुर्छित छन् भने घरमा रुवावासी चलेको छ । शव महेन्द्रनगरमा ल्याएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारबाही गर्न दबाब दिने पीडितका आफन्तहरूले बताए।
यता ओमको मृत्यु भएपछि राकेश अहिले फरार भएका छन् भने प्रहरीले पनि घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारजनको गुनासो छ । १८ श्रावणमा झगडा भएको र १९ श्रावणको दिन मङ्गलवार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिए पनि प्रहरीले हत्याका आरोपी राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आक्रोशित भएका छन् ।
यसैबिच इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक ( इन्स्पेक्टर) तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए।