arrow

नेपाल सरकार र एडिबीबिच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
adb-minister.JPG

काठमाडौँ । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।  

बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैङ्कका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्  । यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी  नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् । 

कार्यक्रममा अर्थ सचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैङ्कको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । 

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एसियाली विकास बैङ्कको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड १९ सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।
 
यस बाहेक एसियाली विकास बैङ्कबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढवा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ