- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा बिहिवार आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताए ।
प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए । समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ-आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्नुहुँदै उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनसमेत अनुरोध गरे ।
युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्दै उनले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए ।
‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको सङ्ख्यामा युवा विदेशिनु नपर्ने अवस्था आउने बताउँदै युवाको जोश र जाँगरलाई मुलुकमा नै खचिर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।