- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई जनसङ्ख्याको अनुपातमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्। सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित मुजेलिया स्थित ग्रामीण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् ।
सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश २ लाई जनसङ्ख्याको अनुपातमा खोप उपलब्ध हुन नसकेको उनले गुनासो गरे। विगतमा केन्द्रीय नेतृत्वलाई कोरोना महामारीको जोखिम बारे बुझ्न प्रदेश २ को स्थलगत अनुगमनको लागी पटक पटक आग्रह गर्दा समेत आउन नचाहेको अवस्था शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेकोमा उनले धन्यवाद समेत दिए।
महामारी नियन्त्रणका लागी आफूहरू उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको भन्दै मुख्यमन्त्री राउतले सम्भावित तेस्रो चरणको लागी समेत तयारी अवस्थामा रहेको र त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको बताए ।
बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधि बारे धारणा राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड १९को अवस्था एवं धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्था बारे व्रिफिङ्ग गरेका थिए ।
बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, महान्यायाधिवक्ता दिपे्न्द्र झा, जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह लगायतको सहभागिता रहेको थियो ।